सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरालाई आशिष

२०७५ माघ १२, १०:३५ खबर संवाददाता

छोरा,
जण्ड समयमा जन्मियौ 
तिमी पनि जण्ड बन्नुपर्छ 
उदण्ड छ समाज 
तिमी पनि उदण्ड बन्नुपर्छ 
कठोर यो परिवेशमा 
भुँवा भएर काम छैन  छोरा
त्यसैले
तिमी पनि चट्टान झैं कठोर बन्नुपर्छ । 

छोरा, 
सौहाद्रता हराएको सहरमा
विनम्रता हराएको बजारमा
तिमीले,
सौहाद्र अनि विनम्र बन्नु व्यर्थ छ 
तिमी 
शालिन भएर झुक्न चाह्यौ भने 
पराजित ठहरिने छौ,
सहयोगका लागि कसैलाई रुक्न चाह्यौ भने 
यो कठोर समाजले 
तिमीलाई कुल्चने छ,
गुनको पैचो बैगुन तिर्ने स्वार्थी मान्छे 
तिम्रो सहयोगमा कृतज्ञ हुँदैन 
बरु, 
तिमी व्यर्थको सोपान बन्नेछौ ।

छोरा,
इमान हराएको यो समयमा 
वैमानहरुको वोलवाला छ,
शालिनता हराएको सभ्यतामा 
सैतानहरुको चलखेल छ,
त्यसैले छोरा तिमी पनि 
इमान्दार होइन वेईमान बन्नुपर्छ 
शालिन होइन शैतान बन्नुपर्छ । 

छोरा, 
योग्यता अनि क्षमता बदर भएर
चाकरी सदर हुने देशमा 
तिमी पनि 
कर्तव्यपरायण होईन 
सत्ता र शक्तीको गुप्ताङ्ग छामेर 
आफ्नो दुनो सोझ्याउने 
धुर्त चाकरिया बन्नुपर्छ ।

छोरा,
आदमखोर
कमिसनखोर 
चोर अनि 
घुसखोर 
सम्मानित अनि प्रतिष्ठित हुने देशमा जन्मिएर
तिमी बुद्ध बन्ने दुश्प्रयास नगर्नु 
शान्तिको सन्देश छर्ने,
अन्नाहजारे बन्ने दुश्प्रयास नगर्नु
भ्रष्टाचार मुक्त समाजको कुरा गर्ने,
तिमी पनि यो देशमा सम्मानित बन्न 
आदमखोर अनि चोर बन्नुपर्छ  
कमिसन अनि घुसखोर बन्नुपर्छ  ।

छोरा,
यसपालिको दशैंमा मैले तिमीलाई
धेरै–धेरै आशिष दिनुछ 
तिमी 
चोर बन्नु
घुसखोर बन्नु
बैमान बन्नु 
शैतान बन्नु,
सदाचार गर्दैन गर्नु 
दुराचार गर्नु,
इमान्दार बन्दै नबन्नु
बैमानी गर्नु,
तिमी
जाल गर झेल गर 
सत्ता अनि शक्तिसंँग चलखेल गर,
तिमीले–
रावणको झै आँट गर्नु
शकुनीको झै छलढाँट गर्नु,
सकेसम्म 
दुशासन झैं दुष्ट बन्नु 
कंश झैँ रुष्ट बन्नु
महिशासुर झै अभिमानी अनि 
कौरवहरु झै‌ कपटी बन्नु,
तर छोरा,
असत्यको जित हुने कलियुगमा 
सत्यको पछि लागेर 
तिमी–
हरिश्चन्द्र झै सत्यवादी धर्मवीर नबन्नु
हनुमान झैँ कर्मवीर नबन्नु
वृहस्पति झै वुद्धिमान् अनि 
चाणक्य झै नीतिवान नबन्नु
कर्ण झैँ दानी अनि 
गङ्गाको पानी भएर के काम ?
त्यसैले छोरा ,
तिमीले यो कठोर समयमा बाँच्न 
कालिगण्डकीको शालिग्राम होइन 
हनुमन्ते खोलाको कठोर चट्टान बन्नुपर्छ । 

(यस कविताका रचनाकार पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय,सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन् ।) 

 

कमेन्ट लोड गर्नुस