सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड गोल्डकपः लिग च्याम्पीयन मछिन्द्रलाई स्तब्ध पार्दै बागमती सेमिफाइनलमा

२०७८ फाल्गुन २४, ०७:५४ खबर संवाददाता

धनगढी : सहिद स्मारक ए डिभिजन लिग च्याम्पीयन मछिन्द्रलाई स्तब्ध पार्दै बागमती युथ क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ। धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो। मछिन्द्र लिग च्याम्पीयन बन्दा अपराजित रहेको थियो। 

गोल्डकपमा वागमतिले अपत्यासित नतिजा ल्याउँदै आएको छ। पहिलो खेलमा वागमतिले लिगको तेस्रो स्थानमा रहेको एनआरटीलाई हराएको थियो। अब बागमतीले सेमिफाईनलमा फ्रेन्ड्स क्लबको सामना गर्ने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए। 

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। वागमतिलाई अन्तिम चारमा पुराउन अमर श्रेष्ठ, ईमान घलान, विदेशी खेलाडी ड्याडी, अनिल राना मगरले गोल गरे। वागमतिका दिवश लिम्बुको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बताए। मछिन्द्रका लागि कप्तान रञ्जित धिमाल र विमल घर्तीमगरले गोल गरे । विशाल राई र विदेशी खेलाडी ओमाडेजको प्रहार गोलपोष्टबाट बाहिरियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतिका निकोलस फर्नाडेज म्यान अफ द म्याच भए। उनले नगद १० हजार प्राप्त गरे। 

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ।
 

कमेन्ट लोड गर्नुस