सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः हिमालयन शेर्पाको सानदार सुरुवात

२०७८ फाल्गुन २१, ०७:४१ खबर संवाददाता

धनगढी : हिमालयन शेर्पा क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो।

जितसँगै हिमालयन शेर्पा क्वाटरफाईनल प्रवेश गरेको छ । सेमिफाईनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल सोमबार धनगढी रंगशालामा हुनेछ। शनिबारको एकतर्फी खेलमा हिमालयनले ३१ औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो। उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन्।

ईटालीमा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्द भएका हुन् । लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन्। 

खेलको ४३ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए। ५५ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो। त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । खेलको म्यान अफ द म्याच उल्रिच सिव भए। उनले नगद १० हजार पाए। 

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। 
 

कमेन्ट लोड गर्नुस