सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जल्पादेवी अटोमोटिभ्सका सञ्चालक लाखौं रकम ठगेर फरार

२०७८ फाल्गुन २१, ११:५३ कमल सावद

धनगढीः अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हेम ढुंगानालाई ट्र्याक्टर आवश्यक थियो। किन्ने तयारीमा रहेका ढुंगानाले टीकापुरको जल्पादेवी अटोमोटिभ्स प्रालिमा ट्र्याक्टर पाउने जानकारी पाए। उनले प्रालिलाई १० लाख रुपैयाँ पठाए। जल्पादेवीसँग ट्र्याक्टर रहेनछ। जल्पादेवी अटोमोटिभ्सका सञ्चालक नारदप्रसाद जोशीले सोनालीका ट्र्याक्टर ऋणमा दिलाए। तर उनले ढुंगानाले दिएको १० लाख रुपैयाँ सोनालीका ट्याक्टरको स्वरुमलाई दिएका छैनन्। ढुंगानाले भने, ‘मलाई करतार ट्र्याक्टर दिन्छु भन्नुभएको हो। पैसा पनि दिए। ट्रलिसहितको १० लाख दिएको हुँ। तर दिनसक्नु भएन। पैसा फिर्ता मागेपछि सोनालीका दिनुभयो।’

टीकापुरका परशुराम चौधरीले पनि जल्पादेवी अटोमोटिभ्सबाट ट्याक्टर खरिद गरेका छन्। चौधरीले पुरै रकम दिएका छन्। तर उनैको घरमा बस्दै आएका नारद प्रसाद जोशीले ट्र्याक्टर पास गरेका छैनन्। जोशीले परशुराम चौधरीलाई समेत ठगेका हुन्। ‘मैले पनि ट्र्याक्टर किनेको छु। रकम पूरा दिएको छु। मैलै आफ्नो ट्याक्टर पनि दिएको छु। तर नामसारी गर्दा उहाँ बिरामी छु भन्दै आउनुभएको छ’ उनले भने।  साथै उनले सोरुममा लिएको सटरको भाडा पनि नतिरेको परशुराम चौधरीले बताए। 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरका दीर्घ बमले पनि ८ लाख रुपैयाँ जल्पादेवीका सञ्चालक जोशीलाई पठाएका थिए। कैलालीको जोशीपुर गाउँपालिकाका स्थानीय जोशीलाई ८ लाख पठाएको २ वर्ष भएको छ। तर जोशी अझै फरार छन्। ‘मैले बैंकमार्फत ८ लाख पठाएको हुँ। तर मलाई स्वराजको ट्र्याक्टर दिइयो। पैसा फिर्ता माग्दा मलाई चेक दिइएको थियो। तर चेकमा पैसा थिएन’ उनले भने।

कैलालीको टीकापुरमा रहेको जल्पादेवी अटोमोटिभ्सका सञ्चालक नारदप्रसाद जोशी (सागर) यसरी नै किसानको लाखौं रकम ठगेर फरार भएका छन्। उनीविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा ठगिएको भन्दै निवेदन परेका छन्। उनले किसानलाई ट्रलिसहितको ट्याक्टर दिने भन्दै लाखौ रकम उठाएर फरार भएकोे पीडितले गुनासो गरेका छन्।

तर जोशी अझैसम्म सम्पर्कमा आएका छैनन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश सापकोटाले जोशीलाई फोन गरेको बताए। ‘निवेदन आएका छैन। मैले अफिसबाट फोन पनि गरेको हुँ। तर अझै सम्पर्कमा आउनु भएको छैन’, सापकोटाले भने।

फरार भएका जोशीको खोजी गर्न प्रहरीले बेवास्ता गरेको गुनासो गरिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस