सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड गोल्डकप : बागमतीसँग पराजित हुँदै एनआरटी बाहिरियो

२०७८ फाल्गुन २०, ०६:४२ खबर संवाददाता

धनगढी : धनगढीमा जारी सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा बागमती युथ क्लब विजयी भएको छ। धनगढी रंगशालामा शुक्रबार ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमती विजयी भएको हो।

खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे। उसका सुमन राई पेनाल्टीमा चुके। एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे भने आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन्।

पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन। जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भएको हो। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस