ऐंठन
हिजो रातभरी निन्द्रै लागेन ! अहँ लाग्दै लागेन !! कोल्टे फर्किन्छु , उत्तानो पर्छु , घोप्टिन्छु । अहँ कुनै आसनले काम गरेन । रामदेवलाई सम्झन्छु हँुदैन , कामदेवलाई सम्झन्छु अहँ हुँदैन मलाई लाग्छ यो मेरो जीवनको मात्र नभएर शताब्दीकै सबैभन्दा लामो रात थियो । भयानक र त्रासदीले भरिएको रात । डर पनि यति बिघ्न कि मुटुको धड्कनले आफ्नै छातीको भित्ता फोडेर फुत्त बाहिर निस्केला जस्तो । घारी शूल हो कि झै लाग्ने घरी ऐठन हो कि झै लाग्ने । यति भयानक र विभत्स रात मैले मेरो जीवनमा कहिलै भोग्नु परेको थिएन । मनमा अशान्ति र वेचैन भए घरका भित्ताले पनि घाटी अचेट्दा रैछन् । यति फराकिलो अनि उज्यालो कोठा पनि अध्यारो अनि साँघुरो कालकोठरी झै अनुभुत भयो । मनमा चैन नभए आफ्नै छायाँ पनि भुताहा कङ्कालको छायाँ जस्तो लाग्दो रै छ । आँखा चिम्लन्छु शान्ति छैन आँखा खोल्छु शान्ति छैन । कपाल भाति गर्छु हुदैन, अलोलम बिलोम गर्छु हुदैन, भद्राशन गर्छु हुदैन , भुजङ्गासन गर्छु हुँदैन , सूर्य नमस्कार गर्छु हुँदैन । के गरे के गरिन ? जतिगर्दा पनि भएन । मनमा नै शान्ति नभए पछि आँखा चिम्लेर वा खोलेर शान्ति पाइने हो र ? मनका कमला केश्राहरु पट्ट फुटेर आँखाका परेलाबाट डल्लै भुइमा झर्लान कि भन्ने डर ।
त्यो सान सौकत, त्यो इज्जत प्रतिष्ठा, त्यो अगुवा पछुवाको भिड, कठैबरा ! हिजो सम्म मैले आफुलाई संसारकै अनि शताब्दीकै सबैभन्दा भाग्यमानी मानिस सम्झैको थिए तर अहिले लाग्दैछ संसारमा म भन्दा पनि अभागी र बिचरो अर्को कोही होला कि ? कुहिरोमा हराएको कागले बरु गन्तव्य भेट्टाउला तर मेरो न गोरेटो लच्छित छ, न गन्तव्य नै निर्धारित छ । समय बलबान हुन्छ भन्ने सुनेको थिए यति कठोर होला भन्ने सपनामा पनि सोचेको थिइन । डाको छोडेर रोऔं भने दुनियाले के भन्ला ? नरोऔं भने मनमा गुम्सिएको पिडा छाती नै फोरेर फुत्त बाहिर निस्केला भन्ने डर । उफ् ! यति धेरै सकस र छट्पटाहट त पहिलो पटक बच्चा पाउँदै गरेकी कुनै आमालाई पनि नभएको होला ।
पाँच वर्ष लामै समय हो तर सम्झेर ल्याउँदा पाँच बर्ष पाँच दिन जस्तो पनि लाग्दै छैन । बरू यो पाँच वर्ष लम्बिदै–लम्बिदै गएर पाँच दशक वा पाँच शताब्दी भैदिएको भए के हुने ? केहि कालका लागि रात नझरेको भए , दिन नढलेको भए कति जाति हुन्थ्यो ? समयलाई कतिपयले निष्ठूरी हुन्छ भन्थे ! होइन होला जस्तो लाग्थ्यो तर सांच्चै हो रै छ । आज त लाग्दै छ बरू सूर्य संधैका लागि मध्य आकासमा स्थिर रहोस । रितुहरू न फेरियुन र पुरानो क्यालेण्डर कहिल्यै च्यात्न नपरोस् । सेकेन् सुईको काँटालाई आजको जति हतारो कहित्यै भएन । एकै छिनलाई एकै दिनलाई समयले विश्राम लिएको भए के हुने तर निष्ठूरी समयले मेरो आग्रहलाई मान्ने हो र ? नेपोलियन , कैजर बिलियम , हिट्लर र मुसोलिनीहरू ले त समयलाई आफ्नो बसमा पार्न सकेनन् भने म नाथे भुसुना ।
अस्ति हँुदो अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई टाढाबाट देख्दा मात्रै पनि अल्छी लागेर आउँथ्यो । मनको एउटा कुनामा त्यो ठूलो घरमा पस्न नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । सभामुखले , आफ्ना मनमा गडेका गुनासा , दुखेसा अनि तर्कना धित मरुन्जेल ओकल्न नदिने । अरुका मनका गुनासा , दुखेसा अनि तर्कनाहरु सुन्न आफुलाई जागर न चल्ने । सभाहलमा नछिर्दै लट्ठ पर्ने आँखा समाल्नै धौ–धौ । यसो मोबाइल खोलरे सामाजिक सन्जालमा आँखा डुलाऊँ भन्यो मिडियावालाले खेदो खन्ने । बिना बिजनेस कुर्सी ओगटेर बस्ने रहर आफुलाई कहिल्यै जागेन । आज चाँहि कस्तो किसिमको आशक्तिले तानेर हो कुन्नि रातभरीका अनिदा आँखा लिएर मिरमिरे नहुँदै मैले सम्मेलन केन्द्र तिर हेरे । देखिएन ! निष्ठूरी तुवालोलाई पनि आजै लाग्नु पर्ने । यति ब्यग्र मन लिएर पाँच वर्षमा पहिलो पटक हेरेको हुँ मैले सम्मेलन केन्द्र । देखिएन राम्रै भयो नभएत म डाको छोडेरै रून्थे हुँला । रूँदा मेरो अनुहार अत्यन्त बिकृत अनि बिभत्स देखिन्छ रे तर पनि दुखको बेला आफ्नो सुन्दरताको ख्याल कस्लाई हुन्छ र ?
मलाई सम्झना छ त्यो पहिलो दिनको ! त्यो उत्साह , उमङ्ग अनि उत्तेजनालाई शब्दले कसरि अभिव्यक्ती दिनु र ? टाढैबाट देख्ने गरेको सम्मेलन केन्द्रका सिडिहरू उक्लिदै गर्दा मेरा पैतलाहरू भुइमा थिएनन् । हिडेको होइन कि पैतलाले धर्ती छोडेर हावामा कावा खाएको अनुभूति थियो त्यो । खुल्ला आकासमा स्वच्छन्द ढङ्गले उड्ने वादलको टुक्रा पनि त्यति हलुको हँुदैन होला । कुनै अदृश्य शक्तीले सम्मेलन केन्द्र भित्र ठेले जस्तो । हिँडेको होइन कि बतासिए जस्तो अनुभुति त्यो । चुनाव जितेको जोस र शत्ता अनि शक्तिको हिस्सा बन्न पाइने लालसाले फुकेको बेलुन जस्तै बनेको थिए म ।
सफतसंगै अरुले झै विधुतीय रप्तारमा काम गर्न थाले मैले पनि । त्यसैको परिणाम स्वरुप पाँच वर्षमा जनतालाई एक थान संबिधान दिइयो । यसमा मेरो पनि हिस्सेदारी रहनु चानचुने कुरा हो र ? अहिले यहि एकथान संबिधानलाई हेरेर भावबिभोर बनेको छुँ म । हरपल यसैलाई चुमुचुमु अनि सुम्ल्याइ रहँ जस्तो लाग्छ । बरू यसलाई हतार–हतार गरेर असमयमै लेखेर सिध्याउनेहरू संग भने मेरो ठूलो गुनासो छ । मैले त यसमा धेरै ठाउँमा ह्स्व् दिर्घ मिलेको छैन अझै दुईचार बर्ष लगाएर व्याकरण मिलाउ भनेको थिए कसैले माने पो । अस्तिको बैठकमा कुनामा बसेर सुक्सुकाउने नाथे नै हो संविधान बनाउँदा सबैभन्दा हतार गर्ने । बेलामा बुद्धि नपुर्याउने अनि आज बैठक कोठाका कुर्ची सुम्सुम्याउदै रोएर हुन्छ । कुर्ची बसुन्जेल मात्रै आफ्नो हुन्छ भन्ने कुरा त्यस नाथेले के बुझोस् ? आज हामी बसेको कुर्चीमा भोलि कोहि अरु बस्छ , पर्सि फेरि अर्को कोही बस्छ । कुन्नि के जातिलाई घ्यू पच्दैन भन्थे साँच्चै हो रैछ । नभए संसदले हामीलाई के दिएको थिएन र ? भत्ता त्यतै शत्ता त्यतै । नाम त्यतै दाम त्यतै ।
अघि पछि भए बेग्लै कुरा हुन्थ्यो । पाँच बर्ष पछि चुनावको मुखैमा निर्वाचन क्षेत्रका जनता सामु के मुख लगेर जानु ? संबिधान बनाउँदा बनाउँदै न जनतालाई भेट्न सकियो न त भनेको ठाउँमा बाटोघाटो , पुलपुलेसो लैजान सकियो ।त्यसबेला , भोटमाग्दा थुतुनो जोगाउन सकेको भए आज आफ्नै निर्वाचन क्षेत्रका जनताका अगाडि मुख लुकाउनु पर्ने अवस्था त आउने थिएन । त्यसबेला जोसै–जोसमा बिद्यालय , अस्पताल , सडक , संचार , बिद्युत , खानेपानी , रोजगारी लगाएत सबै थोक दिउँला भनियो तर संबिधान लेख्दालेख्दै फुर्सद नभएर दिने कुरा त पर गाउँमा एकपटक पुग्न सम्म सकिएन । टुरिस्टलाई गाउँ पस्न शक्त मनाहि छ भनेर पोहर–परारबाटै भन्न थालेका हुन् अ रे ? अब भेट्दा साँडेले बाच्छोलाई लखेटे झै लखेट्न बेर छैन ।
निर्वाचन देखि निर्वाचित भए यताका तमाम किस्साहरु संगालेर राखेको छु । कति सदन भित्रका किस्सा कति सदन बाहिरका किस्सा । किस्साहरुको सिंगो पुलिन्दा खोल्ने हो भने त चुडकिलाको राम्रै किताब बन्छ । अघिल्लो निर्वाचनको एउटा रमाइलो किस्सा यहाँ उल्लेख गर्ने अनुमति चाहन्छुः चुनावी उत्तेजना र आवेगमा यो दिन्छु त्यो दिन्छु भन्दाभन्दै खोला नै नभएको गाउँमा एक बर्ष भित्रै पुल ल्याइदिन्छु भन्न पुगेछुँ । पछि सहयोगीले कानमा साउती मारेपछि आफ्नै बोलीबाट आफै लज्जित भए । यस्ता किस्सा त कति छन् कति ? कति स्मरण योग्य ? कति विस्मरण योग्य ?
उफ् यो बिछोडको पिडा ! सम्झदा पनि कहाली लाग्दै छ ! दुधे बालकले झै डाको छोडेर रुनपाए मन हलुको त हुनेथियो । आज संसदको अन्तिम दिन् । आजबाट निवर्तमान भै ने पिडाले मन भत्भति पोलिदै छ । व्याकरण लेख्ने गुरुले बिगतलाई भूतकाल भनेर किन लेखेका रैछन् भन्ने कुरा आज अनुभुत हुँदैछ । निर्वाचन मुखैमा छ भनेर के गर्नु ? राजनीति जस्तो अनिश्चितताले भरिएको खेल संसारमा अर्को छैन । भोलिको के भर भयो र ? त्यसै पनि जोतिषहरूको भबिश्य बाणी र निर्वाचनको परिणाम प्रति मलाई कहिल्यै विश्वास लाग्दैन । भविष्यको अनिश्चित गर्भमा जे पनि हुन सक्छ ?
सम्पतिमा सबैको हाइहाइ बिपत्तिमा कोइछैन दाजुभाई त्यसै भनेको होइन रहेछ । मान्छे जति नीच अनि स्वार्थी प्राणी संसारमा अर्को कुनै छैन । हिजोसम्मचाकरी गरेर कहिल्यै न थाक्नेहरू आज मुन्टो बटारेर हिड्न थालेका छन् । उज्यालो नहुँदै सिरानीमा चिया र पत्रिका पुर्याउने घरबेटी कोठा कहिले खाली गर्नुहुन्छ त नेताजी भनेर कचकच गर्न थालेको महिना दिन भयो । हिजो आज त संसद भवनको गेटमा उभिने सिपाही पनि मन नलागि–नलागि सल्युट गर्छ । हरे ! यति चाँडै यस्ता अदिन आउलान् भन्ने त सपनामा पनि सोचेको थिएन । मेरो मात्रै हो र ? स्वकीय सचिव सालो, कानुनी सल्लाहकार काका , प्रेस सल्लाहकार पत्नी लगायत मेरा सबै आश्रितहरुको पनि बिल्लीबाँठ हुने भयो ।
संसदबाटै बुढेशकालमा पेन्सन पट्टा लगेर जाउँला भने त , कठैबरा ! जाबो बाटो खर्च र सिदा मागेर घर जानुपर्ने दिन आए । तपाईंहरू पनि भोली घर जाँदै हुनुन्छ भने म पनि गोङ्गबु बसपार्क आउँदै छु । सार्वजनिक बसमा संगै लागौंला गाउँ तिर ।
(यस व्यग्यात्मक मनोवादका लेखक पद्म पव्लिक मुक्तीनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन् ।)