सहजपुर-बोगटान सडक शिलान्यासको तीन वर्ष, चार किलोमिटर कालोपत्रे
धनगढीः सहजपुर–विपीनगर–बोगटान सडक शिलान्यास भएको शनिबार तीन वर्ष पूरा भएको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते सडकको कालोपत्रेका लागि शिलान्यास गरेका थिए। ५० किलोमिटर सडक ३० महिनामा कालोपत्रे गर्न सम्झौता भएको थियो।
तर शनिबार शिलान्यासको ३६ महिना पूरा हुँदा पनि चार किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ। सहजपुर–विपीनगर–बोगटान सडक कार्यालयका इन्जिनियर अशोक मल्लले चार किलोमिटर सडक मात्र कालोपत्रे गरिएको बताए। ‘चार किलोमिटर कालोपत्रे भएको छ। २५ किलोमिटर यो वर्ष कालोपत्रे गर्छाै,’ उनले भने।
२०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक निर्माणको काम थालिएको हो। ट्रयाक निर्माण सुरु भएको ३४ वर्ष पूरा भएको छ। सडक निर्माण सुरु भएको ३४ वर्षसम्म ४ किलोमिटर मात्र कालोपत्रेको काम सकिएको हो। ३० महिनामा निर्माण पूरा गर्न शिलान्यास भएको सडकको ३६ महिना हुँदा पनि ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सडक निर्माणमा अन्य समस्या नभए पनि वर्षाको पानीले हैरान गर्ने गरेको सहजपुर–विपीनगर–बोगटान सडक कार्यालयका प्रमुख तेज भट्टले बताए। ‘बेमौसमी वर्षाका कारण समस्या भएको हो,' उनले भने, 'पटकपटक पानीले संरचना भत्काउदै आएको छ। भत्किएका संरचना निर्माणमा समस्या हुँदै आएको छ।’
कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ५० किलोमिटर सडक सन २०२१ जुनमा सक्ने गरी ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सम्झौता भएको थियो। कोरोना भाइरसको महामारीमा निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै सरकारले आँउदो जुलाई २८ सम्मका लागि समय थप गरेको छ। तर थपिएको समयमा पनि सडक निर्माणको काम पूरा नहुने सहजपुर–विपीनगर–बोगटान सडक कार्यालयका प्रमुख भट्टले बताए। उनले भने, ‘थपिएकोे समयमा सकिदैन। ३० महिनाको योजना एक वर्षमा पूरा हुने कुरै भएन्। एक दिन पानी परे पनि समस्या हुने गरेको छ। कैलाली खण्डमा पानीले बढी समस्या गर्दै आएको छ। डोटी क्षेत्रमा समस्या छैन।’
२ अर्ब २५ करोड रुपैयाँ लागतको ५० किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले एक्जिम बैंक अफ इन्डियासँग ऋण लिएको छ। २९ महिनासम्म रुख कटानीको आदेश नपाएकाले सडक निर्माणको काममा ढिलाई भएको तर्क गरिदै आएको छ। गत वर्षको माघ १९ गतेको मन्त्रिपरिषदको बैठकले तीन हजार ७ सय ९५ रुख कटानीको आदेश दिएपछि रुख कटानीको काम भने पूरा भएको छ।
सम्बन्धित समाचार :-
सहजपुर–बोगटान सडकको ३१ बर्षपछि प्रधानमन्त्री ओलीद्धारा फेरी शिलान्यास