सुदूरपश्चिमका इँटा उद्योगमा २० करोडको क्षति, पलायन हुने अवस्थामा व्यवसायी
धनगढी : सुदूरपश्चिममा इँटा उत्पादन ठप्प भएको छ। इँटा उत्पादनको मुख्य सिजनमा वर्षा हुँदा उत्पादन ठप्प भएको हो। जसका कारण इँटा व्यवसायीलाई ठूलो क्षति भएको छ। कैलाली र कञ्चनपुरका ८० इँटा उद्योगको मात्र २० करोड बढीको क्षति भएको बताइएको छ।
हिउदे वर्षा र खराब मौसमका कारण एक उद्योगमा झण्डै २५ देखि ३० लाख सम्मको क्षति भएको छ। उत्पादनको तयारीमा रहेका तथा काँचो इँटा बर्सातको पानीले नष्ट भएकाे नेपाल इँटा उद्योगका सञ्चालक मायाराम चौधरीले बताए।उनले ४ महिनादेखि उत्पादन नै गर्न नपाएकाे बताए। उनले भने, 'याे सिजनकाे समय हाे। हामिले कामै गर्न पाएका छैनाैँ। पकाउन तयार राखिएका इँटा सबै पानीले कामै नलाग्ने भएका छन्।,
उद्योग बन्द भएकाले मजदुरहरु पनि समस्यामा छन्। खराब माैसमका कारण काम गर्न नपाउँदा साझ र बिहानको खानाका लागि समेत समस्या भइरहेकाे एकजना मजदुर परशु चौधरीले बताए। उनले भने, 'परिवारसहित टीकापुरबाट काम गर्न धनगढी आयाैँ। यहाँ पुगेकाे भाेलिपल्टबाटै पानी परिहाल्याे।'
गत कार्तिकको वर्षामा ठूलो क्षति भएकोमा अहिलेको वर्षाले पनि क्षति गरेको हो। त्यसैमा चार महिनादेखि इँटा उत्पादन गर्न नपाएकाे सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहीले बताए। उनका अनुसार कैलालीमा ४२ र कञ्चनपुरमा ३८ गरि जम्मा ८० इँटा उद्याेग छन्। एउटै इँटा उद्याेगमा २५ देखि ३० लाखसम्मकाे क्षति भएकाे छ। 'कैलाली र कंचनपुरका उद्योगमा मात्र कम्तीमा २० करोडको क्षति भएको छ,' उनले भने, 'सिजनकाे समयमा माैसमले गर्दा उत्पादन नै गर्न सकिएको छैन। व्यवसायी पलायन हुने अवस्थामा छन्।'
इँटा उद्योगको बीमा नहुँदा व्यवसायी थप मारमा परेका छन्। बीमा नभएकाले धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाे उनी बताउँछन्। वर्षाैँदेखि सरकारसँग विमा गराईदिन माग गर्दै आए पनि कुनै सुरसार नै नदेखाएकाे उनले बताए। उनले भने, 'हरेक वर्ष ठुलाे क्षति बेहर्नु पर्छ। यसकाे बिमा गर्न सरकारसंग वर्षाैँदेखि माग गरिरहेका छाैँ। कुनै वास्ता नै छैन।'