धनगढीमा सडक भत्काएर ४ वर्षदेखि अलपत्र छाडिएपछि स्थानीय आन्दोलनमा, उपमहानगर घेराउ
धनगढी: धनगढीको हसनपुर–शिवनगर सडक निर्माणको काम सुरु नगरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। भनेको समयमा काम सुरु नभएको भन्दै उनीहरुले विरोध गरेका हुन्। विगत ४ वर्षदेखि आफूहरुलाई उपमहानगरपालिकाले झुक्काइरहेको आरोप स्थानीयको छ। आक्रोशमा रहेका हसनपुरवासीले मंगलबार धनगढी उपमहानगरपालिका नै घेराउ गरेका थिए।
उक्त सडक निमार्ण गर्ने भन्दै कालोपत्रे सडकमा डोजर चलाएर अलपत्र छाडिदिएको स्थानीयले गुनासो गरेका छन्। सडक अलपत्र छाडिदिँदा विद्यार्थी बालबालिकाहरुलाई हिँड्नै समस्या भइरहेको र दुर्घटनाको जोखिम समेत बढेको स्थानीय खुसीराम चौधरीले बताए। ‘सडक निर्माण थालेको ४ वर्ष भइसक्यो अहिलेसम्म पूर्ण भएको छैन। पटक–पटक विरोध जनाउँदा पनि कुनै वास्ता गरिएको छैन। हामीलाई केही चाहिँदैन बाटो चाहिन्छ’ उनले भने।
कालोपत्रे सडकमा डोजर चलाएर बनेको सडक समेत भत्काएर अलपत्र छोडेको स्थानीय अनिल भण्डारीले बताए। उनले भने, ‘पटक–पटक विरोध गरिरह्यौँ, हिलाम्य सडकमा धान पनि राप्यौं, वडा कार्यालयमा बिन्ती गर्यौंं तर पनि कुनै वास्ता भएन। बच्चालाई ललीपप दिएर भुलाए जस्तै नगरपालिकाले हामीहरुलाई भुलाइरहको छ। अब भने समयमै काम नगरे उग्र रुप लिन्छौँ।’ धनगढी उपमहानगरपालिका घेराउ गर्न पुगेका स्थानीयले संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन्। उपमहानगरपालिका घेराउ गर्दै उनीहरुले निर्माण कम्पनीसँग प्रतिवद्धता समेत जाहेर गराएका छन्।
उता उक्त सडकमा काम गर्ने मजदुरहरुले भने आफूहरुले ज्याला नपाएको भन्दै काम रोकेको बताएका छन्। निर्माण कम्पनीले २ महिनादेखि ज्याला नदिएपछि काम छोडेको उनीहरुले बताएका हुन्। २ महिनादेखि ज्याला नदिँदा घर खर्च चलाउनै मुस्किल हुन थालेपछि आफूहरुले काम गर्न छोडेको एकजना मजदुर दुर्गा चौधरीले बताए। ‘हामीले माघी समेत मनाउन पाएनौँ। अब ज्याला दियो भने भोलिदेखि नै काममा जान्छौँ। नत्र कसैले ज्यालाबीना काम गर्दैन’ उनले भने। उक्त सडकमा १३ जना मजदुर कार्यरत छन्।
निर्माण कम्पनीले भने विभिन्न कारणले ढिलाइ भएकोमा अब चैत मसान्तमै काम सम्पन्न गर्ने दाबी गरेको छ। माघी, बर्सात तथा कोरोनाका कारण केही समय काम रोकिएकाले अब समयमै काम सम्पन्न गर्ने सडक निर्माणको जिम्मा पाएको न्यू साहारा कन्सट्रक्सनका प्रतिनिधि राजु भट्टले दाबी गरेका हुन्। ‘काम चालु नै छ। बीचमा विभिन्न कारणले केही समय काम रोकिएको हो। चैत्र मसान्तसम्मको म्याद छ, हामी समयमै काम गछौँ’ उनले भने।
पटक–पटक सडक कालोपत्रे गर्ने भन्दै उपमहानगरपालिकाले म्याद थप गर्दै आए पनि निर्माणले अझै पूर्णता पाएको छैन। आर्थिक वर्ष २०७४/७५ मा धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीसँग उक्त सम्झौता गरेको थियो। विभिन्न कारणले ढिलाइ भएकोमा अब समयमै काम सम्पन्न हुने गरी प्रतिवद्धता गरिएको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले बताइन्।