सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत्यु

२०७५ माघ ४, ११:४७ खबर संवाददाता

चितामा जलाउन लागेको लास मुखाग्नीको राप खप्न नसकेर जुरुक्क उठेपछि मलामीहरु भाग्न थाले । चिहानघाटमा कोलाहल र खैलाबैला मच्चियो । मलामी संगै मिसिएको सिताराम पनि भाग्न थाल्यो । अनोठो चैं के भयो भने भाग्दै गरेको सितारामले पछि फर्केर हेर्दा अघि चिताबाट जुरुक्क उठेको लास उसैलाई लक्षित गरेर पच्याउँदै थियो । अब भने उसको होस हरायो । मर्नु भन्दा बहुलाउनु बेस भनेझै अर्ध बेहोसीको अवस्थामा सिताराम उत्तर तर्फको गोरेटो पक्रिएर दौडन थाल्यो । कति माइल दौडियो त्यसको हेक्का उसले राखेन तर दौडिरह्यो–दौडिरह्यो ।

बडेमानको नदी गोरेटोको मुखैमा लम्पसार नभएको भए सितारामको म्याराथन दौड कहाँ गएर टुङ्गिन्थ्यो कुन्नि? उ बाध्यता बस नदी किनारामा पुगेर रोकियो । नदी किनारामा पुगेर रोकिए पछि किन हो कुन्नी नचाहेर पनि उसले पछाडी फर्केर हेर्यो । नदी किनारामा फगत उ एक्लो थियो । अघि उसलाई लखेट्ने लास कुन्नी कता छुटेछ ? उसले सन्तोषको लामो सास फेर्यो किनभने उ कालको मुखबाट जोगिएको थियो । 
नदी किनारामा पुगेपछि मात्रै सितारामलाई तिर्खाले तालु सुकेको अनुभुती भयो । किन बिलम्ब गर्नु थियो र ? उसले आफ्ना तिर्खाएका अन्जुली अबिलम्ब पानीमा चोब्यो । कस्तो आश्चर्य ? नदीको सङ्लो पानीमा उसको आफ्नो प्रतिबिम्ब थिएन । त्यो लास फेरि पनि नहुनुपर्ने ठाउँमा थियो । 
उ जोडले चिच्यायो ।  

ब्युझदा निधार भरि चिट्चिट पसिना थियो । तिर्खाले तालु लागेका थिए । उसले परेला खोलेर बिस्तारै कोठामा आँखा फिजायो । निस्पट्ट अन्धकमा उसलाई झनै औडाहा भयो । कोठाका चारै भित्ता र दलिनले एकैे साथ घाँटी अचेट्न थाले पछि उ खाटबाट जुरुक्क उठ्यो र चिम बाल्यो । चिमको उज्यालो पनि किन किन मधुरो लाग्यो उसलाई आज । कोठामा बलेकै चिम छोडेर एक अम्खोरा पानी एकै सासमानिलेर उ फेरि निदाउन पल्टियो । कम्मल ओढेर खाटमा घम्लङ्ग पल्टिएको सिताराम केही छिन कोल्टे फर्कियो र फेरि निदायो । बिहान उ ब्युझदा सूर्य निकै उभो लागिसकेका थिए ।

कुल्ली काम गर्ने सिताराम सानो कोठा बहाल मालिएर गेटा आँखा अस्पताल पछाडी बस्छ । खास घर कता हो ? मैले कहिल्यै सोधिन र आफै उसले त्यसको जानकारी दिएन । उसले बिहानका सबै काम सकेर चार गास भाट टिप्यो । ढोकामा सानो ताल्चा टाँगेर साइकल डोर्याउदै बाहिर निस्कियो । आगनमा पुगेपछि साइकलको सिट टक्टक्यायो, टायरमा हावा नाप्यो, चैनको निरीक्षण गर्यो । सबै ठिकठाक भएको ठहर गरेपछि उसले दक्षिण–पश्चिमतर्फको कच्ची सडक पक्रेर साइकल कुदायो । केही छिनमै गेटा आँखा अस्पताललाई बाँयाबाट पछि ठेल्दै उ गेटाको प्रतिक्षालयमा पुग्यो । 

धनगढी र अत्तरियालाई जोड्ने मुल सडक सुनसान अनि चकमन्न थियो । साइकल समेत सडकमा थिएनन् । उसले हिजो सात बजेको समाचारमा भोली नेपाल बन्छ भन्ने समाचार घरबेटीको रेडियोमा सुनेको थियो । जसको हेक्काउसलाई अहिले भयो । 
सुनसानमुल सडक झट्ट समात्न किन किन उ हच्कियो ? त्यसैले केहीबेर रोकेकै साइकलमा गम खायो उसले । उ खै के सोच्दै थियो कुन्नि? ठिक त्यसै समयमा प्रतिक्षालय अगाडीको बासको झ्याङ्बाट एउटा केटी उसको अगाडी प्रकट भई । अप्रत्यासित रुपमा एउटा सुन्दर केटी आफ्नो अगाडी उभिएको देखेर केही क्षणका लागि त सिताराम हक्क न बक्क भयो । 
“दाइ कता जाँदै हुनुहुन्छ ? ”त्यो केटीको मधुर आवाजले सितारामको एकाग्रता भङ्ग भयो ।
“ तेघरी ! ” संकोच मान्दै छोटो जवाफ दियो उसले ।

“दाइ ! अत्तरिया सम्म जानुपर्ने । आज बन्द रैछ साइकलमा लिफ्ट दिनु हुन्छ । ” केटीले बिनम्रतापूर्वक अनुरोध गरी ।
सितारामले मुखले केही जवाफ दिएन तर बस्ने इसारा गरेपछि त्यो अपरिचित केटी थपक्क साइकलमा बसि । 
अर्कै उत्साह अनि उमङ्गका साथ साइकलका पाइडलहरु चल्न थाले । सितारामलाई आजको जति हलुको साइकल कहिल्यै लागेन । 
लम्बेतान सडकमा दुबै जना गफिदै अगाडि बढ्न थाले ।
उनीहरू बीच के कुरा भयो ? परिचय भयो भएन ? केटीको नाम के रैछ ? मैले केहि चाल पाउन सकिन ।

केही समयमै साइकलले अत्तरियको सेरोफेरो समातिहाल्यो ।पद्मा अस्पतालको छेउमा पुगेर केटीले साइकल रोक्न अनुरोध गरेपछि सितारामले पनि नचाहेरै साइकलमा पाइडल हान्न छोड्यो । केटीको सुमधुर आवाजमा एक थान धन्यवाद थापेर सिताराम भारी मन लिएर तेघरी तर्फ उभो सोझियो । अघिसम्म सिमलको भुवाझैं हलुको लागेको साइकल एकै छिनमा टनभन्दा कम लागेन उसलाई । गरुङ्गो साइकल लतार्दै अनि घिसार्दै भएपनि गन्तव्यसम्म पुर्यायो सितारामले । 
खुब काम गर्यो । के गर्यो ? कसरी गर्यो ? कति गर्यो ? कसको निर्देशनमा गर्यो ? किन गर्यो ? केही चालपाउन सकेन आज । तर काम भने दिन भरि गर्यो सितारामले । 
बेलुका फेरि बिहानको झैं एक पटक साइकल जाँच गरेर घरका लागि निस्कियो सिताराम । कतिखेर अत्तरिया छोइए छ पत्तो भएन तर पनि उ केहिबेरमै अत्तरिया चोकमा थियो । साइकलले अत्तरिया चोक छोडेपछि किन किन पाइडलको गति सुस्त भयो , सितारामका आँखा बाटोमा अल्मलिए ?

पद्मा अस्पतालको छेउमा पुगेपछि उसका आँखालाई सितिमिति बिश्वास नलाग्ने अनौठो दृश्य देखियो । बिहान बाटोमा छोडेको आकृति त्यतै सडक किनारामा साँझ पनि ठिङ्ङ उभिएको देखेर आश्चर्यमा पर्यो सिताराम ।
“दाइ हेर्नु न ! गाडी नै नभेटेर हैरान ।“ बिहानको मधुर स्वर एक पटक फेरि उसका कानमा गुन्जियो ।
“ठिकै छ ! आउ बस न त !! “ इच्छा त उसको खुसीले उफ्रने थियो तर पनि समाल्यो आफुलाई ।

दुबैले बिहानको झैं बाटोमा के के गफ गरे केही थाहा भएन तर केही बेरमै उनीहरू प्रतिक्षालय छेउ पुगिसकेका थिए । सडक फेरि पनि सुनसान थियो बिहानको झै । अब झिसमिसे अँध्यारो पनि हुन लागेको थियो ।
“दाइ, आज मेरा साथीहरु साँझपख पिक्निक खाने भनेर यहि जङ्गलमा जम्माभा छन् । खाना खाएर जानुस् है दाइ । नाईं नभन्नु होला ।“ केटीले बिस्तारै कानमा साउतिमारेपछि सितारामले नाईं भन्न सकेन । 
बाँसको झाङ्मा साइकल अडेस लगाएर दुबै जनाले जंगलको साँघुरो बाटो समातेर अगाडि बढ्न थाले । यन्त्र मानवझैँ सितारामले केटीका पदचाँपहरु पच्छ्याई रह्यो । मोहनाको किनारा नपुग्दै बिच जङ्गलमा मानिसको कलबल आवाज आएको सितारामले सुन्यो । 
अब त अँध्यारो पनि भैसकेको थियो । यसै बिच , झिलिमिलि बलेका बत्तीहरु मफतमा मानवीय आकृतिहरु यताउता सल्बलाई रहेका थिए । आगन्तुकहरुलाई देखेर सबै मिलेर स्वागत गरे तर अँध्यारो भैसकेकाले सितारामले न कसैलाई चिन्यो न उनीहरुका कुरा नै बुझ्यो । 
बनभोजको रमाइलोमा मिसिएको सितारामलाई आगो छेउमा बस्न आग्रह गरेर केटी काममा तल्लिन भै । सिताराम चुपचाप सबै दृश्य हेरिरहेको थियो । 
“दाइ खाना लगाउँछु । नत्र तपाईंलाई अबेर हुन्छ ।” भिडबाट उसको परिचित केटी आएर आग्रह गरि ।
“हुन्छ ।” राति अबेर नगरेर सितारामले जवाफ फर्कायो ।
एकै छिनमा उसको अगाडी खानाका तमाम परिकारहरु थुपारिए । सबै परिकारहरु भन्दापर मासुको परिकारले उसलाई लोभ्यायो । मासु सितारामलाई असाध्य मनपर्छ । भातसंग मासुको रस मुछेर खान मासुको कटोरा मात्र के घोप्टो गरेको थियो ? मासुका चोक्टा असरल्लभएर भातको थाल भरि छरिए । 
थलमा झरेको मासुको एउटा टुक्रो उसको औंलामा पर्यो त्यो पनि औंला नै थियो फेरि पनि मान्छे कै । 
अब चैं छाँगाबाट खसे झै भयो सिताराम किनभने मान्छेको मासु उसले जीवनमा पहिलो पटक देखेको थियो । 
अर्ध बेहोसीको अवस्थामा उसले आफ्ना त्रसित आँखा अगेनाको वरपर फिजायो । उसको एउटा परिचित साथी पनि अरुसंगै रमाइलोमा मस्त थियो । साथीलाई देखेर सितारामको हंसले ठाउँ छोड्यो किनभने त्यसको मृत्यु दुई बर्ष पहिले नै भैसकेको थियो । 
सिताराम डङ्रङ्ङ भुइमा लड्यो । केही बेर छटपटायो पनि र फेरि शान्तभयो ।
उता, संधै जसो सबेरै घर फर्कने सितारामले आज किन अबेर गरेछ भनेर घरबेटी काकी निंदाउन सकिरहेकी छैनन् ।
अस्तु.......

(लेखक– पदम पव्लिक मुक्तीनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन् ।) 

कमेन्ट लोड गर्नुस