सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा शल्यक्रिया गर्न महिनौं पर्खिनुपर्ने बाध्यता

२०७८ माघ २४, ११:१९ विन्दु चन्द

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरीयाकी सुरीता चौधरी आफ्नी आमाको पाठेघरको शल्यक्रियाका लागि सेती अस्पताल धाउन थालेको ३ महिना भयो। तर ३ महिनादेखि अस्पताको शल्यक्रिया कक्षामा उनकी ५३ वर्षीया आमा अहिया चौधरीले प्रवेश पाएकी छैनन्। मंसिरदेखि शल्यक्रियाका लागि धाइरहेको उनी बताउँछिन्।  

यहि माघ १६ गते अस्पताल आएका उनीहरु ५ दिन बसेर शल्यक्रिया नहुँदै बिहीवार घर फर्किएका छन्। अस्पताले कोरोनाको कारण देखाउँदै तथा चिकित्सक नभएको भन्दै घर पठाएको सुरीता चौधरीले बताइन्। उनले भनिन्, ‘मंसिरदेखि आइरहेका छौँ। कहिले कोरोना भन्छन्, कहिले डाक्टर छैनन् भन्छन्। अहिलेसम्म त्यतिक्कै आसै आसमै राखेको छ। अरु ठाउँ जान खर्च धेरै लाग्छ भनेर जान सकिरहेका छैनौँ।’

डडेल्धुराको आलितालकी पावर्ती कुँवर पनि बुहारीलाई ल्याएर सेती अस्पताल आएकी ३ दिन भयो। तर उनले शय्या पाइनन्। प्रसूति वार्डमा शय्या अभाव भएपछि उनले भर्ना समेत नपाएकी हुन्। सेती अस्पतालको प्रसूति वार्डमा सेवा पाउनै मुस्किल भएको उनले बताइन्। ‘३ दिन जति यहाँ बस्यौँ। यहाँको व्यवस्थापन राम्रो छैन। बिरामीलाई फटाफट नहेरेर अल्झाइराख्छन्’ उनले भनिन्। 

सेती प्रादेशिक अस्पतालमा एक मात्र शल्यक्रिया कक्ष छ। एकै कक्षबाट सबै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएकाले पाठेघरको समस्या भएका बिरामीलाई सास्ती हुने गरेको छ। प्रसूति वार्डमा चिकित्सक लगायतको जनशक्ति अभाव रहेकाले समेत ढिलोगरी मात्र पाठेघरको शल्यक्रिया हुँदै आएको अस्पतालले जनाएको छ।  जनरल शल्यक्रिया कक्षमा ४ र गाइनेमा २ वटा मात्रै बेड रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउँछन्। ‘अभावका कारण समस्या भइरहेको हो। अब त्यसका लागि १५ बेडको योजना बनाएर प्रस्ताव बजेटका लागि परिवार कल्याण महाशाखा संघीय मन्त्रालयलाई पठाएका छौं, आयो भने बन्छ’ उनले भने। 

सेती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिँदै आएका छन्। उनीहरुमध्ये १० जनाको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने हुन्छ। तर अस्पतालमा शल्यक्रिया कक्ष एउटै भएकाले अन्य पाठेघरको समस्या भएका महिलाहरुले सास्ती पाउने गरेका छन्।  

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस