सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताहरु सुदूरपश्चिम आउँदा मात्रै गेटाको ‘बखान’, संघीय राजधानी पुग्दा खिल्ली

२०८१ पुष ७, ०६:३१

वीरेन्द्र भट्ट, धनगढीः राष्ट्रिय राजनीतिको मुलधारमा रहेका नेताहरु सुदूरपश्चिम आउँदा मात्र गेटा मेडिकल कलेजको विषयमा चर्चा हुने गरेको छ।

अन्य समयमा भने गेटाको विषयमा खासै चर्चा हुने गरेको छैन। वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीसम्मै गेटा अवलोकनमा पुगिसकेका छन्। गेटा पुग्दा प्रधानमन्त्रीदेखि मन्त्री र प्रभावशाली नेतासम्मैले मेडिकल कलेज र चिकित्सा शिक्षा पढाईका लागि पहल गर्नेभन्दै संघीय राजधानी फर्किने गरेका छन्। तर त्यसपछि भने यो विषयले संघीय संसदमा कुनै स्थान पाउने गरेको छैन्।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सुदूरपश्चिम आइपुग्ने प्रायः मन्त्री एवं सांसदले गेटाको अवलोकन गरिसकेका छन्। गेटा पुग्दा नेताहरु ठडिएका भवन देखेर चकितसमेत पर्ने गरेका छन्। तर मेडिकल कलेज बनाउने र चिकित्सा शिक्षाको पढाई सुरु गराउने विषयमा भने संघीय राजधानी पुगेपछि भुल्ने गरेका छन्। तीनै नेताहरु संघीय राजधानी पुग्दा भने खिल्ली गर्ने गरेका छन्।

सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनको विषयमा तर्कवितर्क गरेर पछि धकेल्ने काम मात्र हुँदै आएको छ। तर सुदूरपश्चिम पुग्ने हरेक नेता गेटामा बनेका भौतिक संरचना हेर्नकै लागि भएपनि त्यहाँ पुग्ने गरेका छन्। यसैक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन्।

गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको बताउँदै शिक्षण अस्पताल सञ्चालनमा आफुले सहयोग गर्ने दाबी नै गरेका छन्। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक भइसकेको बताएका छन्। यसका लागि आफुले पहल गर्ने दाबी गरेका छन्। उसो त सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै हो।

सरकारले गेटामा मेडिकल कलेज स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको हो। त्यसयताको हरेक निर्वाचनमा मेडिकल कलेजको विषय सबै दलको नारा बन्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन र रूख कटानको विषयमा झमेला भएर २०७४ सालमा मात्र पूर्वाधार निर्माणको काम सुरू भएको हो।

हाल गेटामा ६ अर्ब लागतमा ६ सय शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक आधुनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। १३ प्याकेजमा पूर्वाधार निर्माणको काम भएको हो। आन्तरिक सडक कालोपत्र, ढल व्यवस्थापन, पानी र विद्युत जडानको काम हुँदैछ। गेटामा भव्य भौतिक संरचना बनिसके पनि मेडिकल कलेज चलाउने विषयमा अन्यौल कायमै छ।

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ। सुदूरपश्चिमवासी भने कुनै गम्भीर रोग लाग्दा उपचार गराउन भारतको लखनउ, नयाँदिल्ली लगायतका अस्पताल जान बाध्य छन्। यही बाध्यता अन्त्य हुने अपेक्षासहित यहाँका नागरिकले मेडिकल शिक्षाको माग गर्दै एप्रोन नै लगाएर प्रमुख जिल्ला अधिकारी हुँदै प्रधानमन्त्रीलाई यसअघि ज्ञापनपत्र बुझाएको भए पनि त्यो धर्ना र ज्ञापनपत्रले कुनै काम गरेको छैन।

कमेन्ट लोड गर्नुस