सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा के गर्छ बाजुरेली सेवा समाज ?

२०७८ पुष २०, १२:०७ खबर संवाददाता

धनगढी: बाजुराको बुढीगंगा नगरपालिका–५ बाजुरामा जन्मिएका चेतन थापा अहिले बाजुरेली सेवा समाज धनगढीका अध्यक्ष हुन्। सरकारी जागिरदेखि लिएर वैदेशिक रोजगारी सम्मको अनुभव बटुलेका उनी आफ्नो पहिचान खोज्न र बाजुराका कला संस्कृतिलाई विकास गर्न समाजमा आवद्ध भएको बताउँछन्। समाजमा उनको कार्यकाल सुरु भएको पनि दुई वर्ष भन्दा बढी भएको छ। 

आफुले कसरी बाजुरेलीहरुले आफन्त बन्न सकिन्छ भन्ने किसीमको कार्यक्रममा जोड गरिरहेको उनले बताएका छन्। ‘युवाहरूमा पश्चिमी प्रभाव परेकोले अहिले केवल बाजुराको मात्रै नभएर अन्य ठाउँका पनि विशेष प्रकारका संस्कृतिहरु ओझेलमा पर्न थालेका छन्’, उनी भन्छन् ,‘यसरी युवाहरुको आकर्षण पर्व मेलामा नभएर र्याप आदि संस्कृतिमा हुँदै जाने हो भने संस्कृतिहरु नाश हुँदै जानेछन्। जसलाई समाधान गर्न हामी जस्तो समाजहरुले सक्रिय हुनु जरुरी छ। हाम्रो प्रयास छ।’  

भीमबहादुर शाह संस्थापक अध्यक्ष रहेको बाजुरेली सेवा समाज विस २०६१ सालदेखि सक्रिय रहेको थियो। त्यसपछि चेतन थापा अध्यक्ष बनिरहँदा सम्ममा सन्तोष थापा शर्मा, कुलबहादुर हमाल लगायतले संस्थाको नेतृत्व गरिसकेका छन्। पहाडी सबै ७ जिल्लाहरुको समाजहरु धनगढीमा सक्रिय छन्। आफ्नै भवन, आफ्नै भौतिक संरचना निर्माण गरिसकेका अन्य समाजको तुलनामा बाजुरेली समाज थोरै यस्तो कुराका लागि पछाडि रहेको थापाको समिक्षा छ। उनी अब बाँकी रहेको कार्यकाल र त्यस पछिको समयमा पनि विशेष जोड भौतिक संरचना निर्माणमा लगाउने, स्रोत साधनको खोजमा लगाउने बताउछन्।  उनी सबैको सहभागिताको महत्त्व दर्साउँदै भन्छन्, ‘समाजलाई एकजना व्यक्तिले मात्रै सहयोग गरेर त हुँदैन। एकजना व्यक्तिले दसै हजार रुपैयाँ दिएर मात्रै हुँदैन। हजारौं व्यक्तिहरुले हजार, पाँच सय दिए पनि समाजलाई माथि उठाउन सकिन्छ।’ 

भौतिक संरचना निर्माणका लागि श्रोत साधन कसरी खोज्नुहुन्छ भन्ने प्रश्नमा थापा भन्छन्, ‘कुनै पनि समाजिक कार्यको लागि ठूलो मन भएका दाताहरुको आवश्यकता पर्छ। त्यस पश्चात् हामीले केही धरातल बनाइ सकेपछि विभिन्न संघसंस्था, सरकारी निकायहरुसँग धाउने कुरा रहन्छ। हामीसँग अहिले समाजको नाममा जग्गासम्म पनि छैन। जग्गा कुनै दाताबाट खोज्ने प्रयास छ र जग्गा पाउने बित्तिकै विभिन्न निकायसँग समन्वय गरेर भवन इत्यादि बन्छ।’ यस्तै चन्दाको सवालमा पनि कुरासम्म भएको र सहयोगको लागि धेरै आश्वासन पाएको पनि थापा बताउँछन्। 

अहिले बाजुरेली समाजको अफिसियल कामहरू अध्यक्षकै अफिस र सचिवकै कार्यालयबाट हुने गरेका छन्। यो भन्दा पहिला वर्तमान अध्यक्ष थापाको होटेलमा समाजकै अफिस भनेर बनाइएको थियो। उ बेला समाजको काम होटलको एउटा कोठाबाट हुने गरेको भए पनि पछिल्लो समय लकडाउनको प्रभावले होटल बन्द हुने अवस्था आएको र समाजको अफिसको पनि अनिश्चितता भएको थापा बताउँछन्।

आम बाजुरेलीहरुको समस्या समाधान गर्नको लागि र सामाजिक क्रियाकलापको लागि समाज खडा भएकोले समाजमा जोडिन अध्यक्ष थापाको बाजुरेलीहरुमा अनुरोध पनि छ। उनी भन्छन्, ‘तपाईं केही समय यहाँ(कैलाली) मा अध्यनको लागि हुनुहुन्छ, कुनै जागिर वा कुनै व्यवसायको लागि हुनुहुन्छ। जे सुकै कारणले यहाँ भएको भए पनि समाजमा आवद्ध भैदिनुस्। यहाँ नै घर परिवारसहित बसाई भएकाहरुले पनि आवद्ध हुनुस्, आग्रह छ।’

‘अहिले पहिलाको जस्तो गाह्रो स्थिति छैन। तपाईंलाई समाजप्रति रुचि छ, केही योगदान गर्न सकिन्छ जस्तो लाग्छ भने व्यक्तिगत रुपमा मलाई, समाजका अन्य कुनै व्यक्तिसँग सम्पर्कमा आउन सक्नुहुन्छ र हामीले बाजुरा मनाइने विभिन्न पर्वहरु आदि मनाउँदै आएका छौँ’ थापा थप्छन्।, ‘त्यहाँ आएर पनि समाजका गतिविधिहरुमा भाग लिनसक्नु हुन्छ र जोडिन सक्नुहुन्छ।’ 

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा बाजुरेली सेवा समाजका धनगढीका अध्यक्ष चेतन थापासँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)


 

कमेन्ट लोड गर्नुस