सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना असरबीच उद्योग दर्ता बढ्दो, तीन वर्षमा थपिए ६ हजार उद्योग

२०७८ पुष १३, ११:३५ विन्दु चन्द

धनगढी : भारतमा रोजगारी गर्दै आएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडाका हरि बिष्ट १५ वर्षपछि घर फर्किए। भारतमा सुरक्षा गार्डको काम गर्दै आएका उनी दुई वर्ष अगाडि स्वदेश फर्किएका हुन्। कोरोना भाइरसको प्रभावले भारतमा काम गर्नै मुस्किल भएपछि उनी स्वदेश फर्किएका थिए। 

अहिले उनी स्वदेशमै उद्योग खोल्ने तयारीमा छन्। स्वरोजगारमुलक उद्योग दता गर्नका लागि उनी घरेलु तथा साना उद्योग कार्यालय पुगेका थिए। उनले भने, ‘विदेशमा सोचेको जस्तो कमाइ भएन्। भारतमा गरेको कामले नेपाली १० हजार बचत गर्न पनि गाह्रो भयो।’

बिष्ट जस्तै घरेलु तथा साना उद्योग कार्यालयमा घरेलु उद्योग दर्ताका लागि अधिकांश युवाहरु दैनिक पुग्ने गरेका छन्। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकबाट सिप सिकेर फर्केका युवाहरु आफ्नै व्यवसाय गर्ने क्रम बढेको हो। 

युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न तथा उद्दमी बनाउनका लागि सरकारले लगानीको वातावरण बनाउनुपर्ने लम्कीका चन्द्र सुनारले बताए। ‘उद्यमी बन्न्का लागि युवाहरु तयार छन्,’ उनले भने, ‘तर उद्यम गर्नका लागि सरकारले वातावरण पनि बनाउन आवश्यक छ।’

घरेलु तथा साना उद्योग कार्यालयमा अहिले दैनिक २० देखि २५ वटा फर्म दर्ता हुने गरेका छन्। पछिल्लो समय उद्योग दर्ता गर्ने महिलाहरुको सङ्ख्या पनि धेरै छ। हालसम्म १२ हजार ९ सय १५ उद्योग घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा दर्ता भएकोमा ३२ प्रतिशत उद्यमी महिला छन्। उद्यामी महिलाहरुलाई अझ अग्रसर गर्न सरकारले सहयोग गर्नुपर्ने गौरिगगां नगरपालिका वडा नम्बर १ की पुष्पा चन्दले बताइन्। 

अहिले तीन तहको सरकार भए पनि कुनै पनि किसिमको सहयोन नपाएको उनले बताइन्। उनले भनिन्, ‘सिपमुलक तालीम भनेर कार्यक्रम ल्याइएको भन्ने सुनिन्छ। तर ती कार्यक्रम समयमै कार्यान्वयनमा आउँदैनन्। आए पनि लक्षीत वर्गहरुमा नभइ पहुँचको आधारमा कार्यक्रम सञ्चालन हुने गरेका छन्।’ 

जिल्लामा कोरोना भाइरसको महामारीपछि मात्र ६ हजार बढी नयाँ उद्योग दर्ता भएको  घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख नवराज भट्टले बताए। उनका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासीकमा मात्रै एक हजार ४४९ नयाँ उद्योग दर्ता भएको छन्।

उनले भने, ‘कोरोना माहामारीपछि विभिन्न ठाउँमा बसोबास गर्दे आएका युवाहरु फर्केर स्वदेशमै उद्यम गर्ने उद्देश्य लिएका छन्। तयसैले उद्योग दर्ता हुने क्रम पनि बढेको छ।’ जिल्लाका १२ हजार ९१५ उद्योगमा ७० हजार युवाले रोजागरी पाएको दाबी गरिएको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस