गणितको हाउगुजी
गणित कठिन बिषय हो भनेर कसैले नभन्दै मलाई यो बिषयसङ्ग डर लाग्न थालिसकेको थियो। डरको कारण गणित बिषय भन्दा पनि गणित पढाउने शिक्षक थिए। कक्षा दुईमा सामान्य जोड,घटाउ, गुणन र भाग सिकाइन्थ्यो। त्यतिबेला हाम्रो कक्षाका लागि बिद्यालयमा कक्षाकोठा उपलब्ध थिएन त्यसैले बिद्यालयको चौरको कुनै कुनामा या पिपलको रुखमुनी हाम्रो कक्षा चल्ने गर्दथ्यो। खुला चौरको कक्षा गणित बिषयको घण्टीमा भने निस्सासिने गर्दथ्यो। निस्सासिनुको कारण गणित बिषयमा पाउने शारीरिक र मानसिक साजय नै हुने गर्दथ्यो।
गणित पढाउने शिक्षक अरु बेला निकै मायालु ब्यवहार प्रदर्सन गर्दथे तर पढाउन आउँदा भने उनलाई देख्दा नै हाम्रो कक्षामा सन्नाटा फैलिन्थ्यो। मनमनै हे भगवान चाडो अर्को घण्टी बजोस भन्ने कामना सबै बिद्यार्थीहरुले गर्दथे। गणित सरले लठ्ठी बोक्नु हुदैनथ्यो। उहाँले केही हिसाब आफैले कालोपाटीमा गरे पछि हामीलाई गर्न दिनु हुन्थ्यो। कक्षामा नै हिसाब जांच गर्नु हुन्थ्यो। जसले हिसाब सहि गर्यो उसले भेरी गुड पाउथ्यौ भने जसले हिसाब गलत गर्न पुग्थ्यो उसको यात कान निमोठ्नु हुन्थ्यो या गाला राता हुने गरि थप्पड हान्नु हुन्थ्यो यात पिटाइ खाने उम्मेदवारले उपयुक्त छ्डी खोजेर ल्याउनुपर्ने हुन्थ्यो अनि त्यही छडिका प्रहारहरुको हत्केलामा सामना गर्नुपर्ने हुन्थ्यो। चौरको खुला कक्षामा खुलेआम सरको हातबाट कुटाइ खानु पर्दा समकक्षी सङ्ग मात्रै होइन अन्य कक्षाका दाइ र दिदिहरुले पनि देखेका हुन्थे अनि उहाँहरुले हमीले कुटाइ खाएको कुरामा बिल्ला हान्दा सहि नसक्नु पिडाबोध हुन्थ्यो। सरको पिटाइ भन्दा पनि अरुले बिल्ला हान्दाको ब्यथा झनै दर्दनाक हुने गर्दथ्यो सबै बिद्यार्थीका लागि। यदि कुनै दिन गणित सरबाट कुटाइ खाइएन भने ठुलै युद्ध जिते झै महसुस हुने गर्दथ्यो। जुन दिन पिटाइ खानेमा एक्लै परिन्थ्यो त्यो दिन इतिहासकै कालो दिन झै हुने गर्दथ्यो। एक्लो कारवाहिको भागिदार हुनु नपरोस भनेर हामी बाटोमा पर्ने मन्दिरमा सात पटक नमस्कार गरेर जाने गर्दथ्यो तर पनि कुनै दिन भने मन्दिरका भगवान पनि निरीह साबित हुन्थे,हामीलाई लाग्थ्यो भगवानभन्दा पनि गणित सर पावरफुल पो रहेछ्न भन्ने तर अर्को दिन हामी अझै नमस्कार गर्न भने चुक्दैनथ्यौ।
गणित सिकाइको औपचारिक कक्षामा म लगायत अन्य मेरा सहपाठी साथीहरुमा गणित भन्दा पनि गणित पढाउने शिक्षकसङ्ग त्रसित हुनुपर्ने स्थिती निर्माण हुँदै गयो। सुरुवाती दिनहरुमा गणितप्रती हाम्रो अभिरुचि नै थियो तर बिस्तारै गणित भने पछि सार्है डर पो लाग्न थालिसकेको थियो। गणित सरलाई भने यो कुराको अत्तोपत्तो नै थिएन। गणित पढाउने सर हाम्रै गाउँका थिए तर उनको डरले हामी गाउँमा समेत उनको अगाडि टिक्न सक्दैनथ्यौ। कतै बाटोमा जम्काभेट हुने स्थिती आए हामी झाडिमा गएर लुक्ने गर्न थालिसकेका थियौँ। तर कक्षामा उहाँबाट बच्ने कुनै उपाय थिएन हाम्रो सामु, त्यसैले निरीह योद्धा झै उनको सामना गर्नु हाम्रो बाध्यता थियो। गणित बिषय के हो? यसको जीवनमा के महत्व छ? हामीले किन गणित पढ्नु आवश्यक छ? भन्ने कुरा थाहा नपाउदै गणित हाम्रा लागि हाउगुजी हुन थालिसकेको थियो।
समयक्रम सङ्गै कक्षा तीनमा आइपुग्दा म र मेरो अर्को साथीले एउटा जुक्ती निकाल्यौ।त्यो जुक्तिले हामीलाई निरन्तरको कुटाइ खानु पर्छ कि भन्ने त्रासबाट धेरै नै आस्वस्त हुन सहयोग गर्यो। हामी दुई जना कक्षाका सबैभन्दा जान्ने बिद्यार्थी थियौँ। हाम्रो जुक्ती अनुसार कक्षामा गणितको हिसाब गर्दा अरुलाई पनि सार्न दिने र सरलाई सबैभन्दा पहिला देखाउन सार्ने साथीलाई पठाउने भन्ने थियो। देखाउने साथीले कुटाइ खाएको अवस्थामा हामी हत्तपत्त फेरि हिसाब हल गर्ने गर्दथ्यौ। जसले गर्दा हाम्रो कुटाइ खानुपर्ने दरमा निकै कमी आयो।गणित बिषयमा हाम्रो उपरोक्त जुक्तिले कुटाइ खाने दरमा कमी आए पनि हामी भित्रको कुटाइ खानुपर्छ कि भन्ने डरमा भने कहिल्यै कमि आउन सकेन। कक्षा दुईदेखि गणित शिक्षक देख्दा डराउने हाम्रो मन, बिस्तारै गणित बिषय पढ्नुपर्ने अनिवार्यताले शिथिल हुन थाल्यो। प्राथमिक तहमा पढ्दा नै म लगायत कक्षाका सबै साथीहरुमा गणित शिक्षक र गणित बिषय प्रती नजानिदो बिकर्षण हुँदै गएको हामी कसैलाई पनि त्यो बेला थाहा हुने कुरै भएन। न त गणित शिक्षक, बिद्यालय र हाम्रा अभिभावकहरुलाई नै थाहा थियो हाम्रो मानसिक र मनोबैज्ञानिक त्रासका बारेमा यथार्थ जानकारी। हुँदा हुँदा गणित शिक्षकले कक्षामा पढाउदा "यो बिषय निकै असजिलो हो, यो बिषयलाई धेरै पढ्ने र अभ्यास गर्नुपर्ने हुन्छ" भन्न थाले जसले यो बिषय त भयंकर अफ्ठारो रहेछ हाम्रो बसको बिषय रहेनछ भनेर हामी सोच्न थाल्यौं। सरले देखाएको डरले हामीमा उप्रेरणा जगाउनुको सट्टा गणितप्रती अझै निरासा र डर पैदा गराउने पो काम गर्यो। सर भने यी सबैकुराबाट सायदअनविज्ञ थिए होला।
हामी पढ्दा काक्षा पाँचमा जिल्लास्तरीय बोर्ड परीक्षा हुने गर्दथ्यो।त्यो परीक्षामा गणितमा हाम्रो बिद्यालयका थैरै बिद्यार्थी पास भए अधिक बिद्यार्थीको गणित ब्याक लाग्यो तर पनि कक्षा उत्तीर्ण नै भए। त्यो बेला हामीलाई गणितले हत्केलामा ठेला बनाए पनि दिमागका सेल किन सक्रिय हुन सकेनन् भन्ने जिज्ञासा जन्मिने त कुनै गुन्जायस नै थिएन। हाम्रो उमेरले अनि अन्य सिकाईको बाताबरणले पनि हाम्रो मानसिक क्षमता त्यति आलोचनात्मक र तार्किक हुन सकेको थिएन। गणित सर समेत विद्यार्थीको असफलता आफ्नै शिक्षण कला र सीपको असफलता हो भन्ने कुराबाट सायद अनविज्ञ थिए होला। गणितको त्रासले हामीलाई कक्षा दससम्म नै लखेट्ने कार्य गर्यो। कक्षा छ मा हामीले अर्को बिद्यालय जानुपर्ने भयो त्यहाँ पनि गणित विषय र शिक्षकले हामीलाई प्रफुल्लित र निर्धक्क भएर गणित सिक्ने वातावरण निर्माण हुन सकेन। कक्षा आठदेखि मेरा मामाले नै गणित पढाउनुहुन्थ्यौ,उनले पनि मेरो गणितप्रतिको त्रास र निरासा हटाउन सक्नु भएन। बिस्तारै म मामासङ्ग पनि दुरि बढाउदै लग्न थाले,गणित बिषयको कारण। उहाँसङ्ग सम्बाद गर्ने र उहाँको नजिक पर्ने साहस मैले एसएलसी पास नहुदासम्म कहिले जुटाउन सकेन।कारण थियो उहाँ गणित बिषयको शिक्षक हुनु र मेरो गणित फोबिया। गणित विषय सङ्ग मात्रै होइन गणित पढाउने शिक्षकप्रतिको रुचि समेत ममा घट्दै गयो। फलस्वरूप गणितको कारण विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्ने कुरामा बज्रपात हुन गयो जब गणितमा जम्मा तेत्तीस नम्बर मात्रै मैले ल्याउन सके त्यो पनि पुरक परीक्षामा।
गणित कसरी पढाउने? कसरी पढ्ने? गणित पढ्ने र बुझ्ने सरल तरिका के के हुन? गणित विषयको महत्व,उपादेयता के के छ्न भन्ने कुराको गहन जानकारी बिनाको एकोहोरो गणितको अभ्यास र पढाइले गणित बिषयलाई बुझ्ने मेधाबी बिद्यार्थी निर्माण गर्न सकिन्न भन्ने मेरो निष्कर्ष रहेको छ। यो निष्कर्ष मैले ब्यक्तिगत अनुभवका आधारमा निकालेको हु जसमा अरुको समान धारणा नहुन पनि सक्छ। गणित पढाउने शिक्षकले गणित प्रतिको अभिरुचि बिद्यार्थीमा बढाउन यो त निकै अफ्ठ्यारो विषय हो भन्नू हुँदैन भन्ने मेरो बुझाइ रहेको छ। गणित बिनाको पढाई निर्थक त छ नै त्यसभन्दा पनि उदेक लाग्दो कुरा यो विषय पढाउने शिक्षकहरुले नै यो विषय सरल ढङ्गले विद्यार्थीले बुझ्ने तरिकाले पढाउन नजान्नु,या जाने पनि पढाउन आनाकानी गर्नु पनि हो। गणित विषयलाई अप्नि सरल र सरस तरिकाले पढाउन सकिन्छ भनेर हरेक गणित शिक्षकले जान्नु र ब्यवहारमा लागू गर्नु पनि अपरिहार्य छ। गणितका लागि अतिरिक्त कक्षा आवश्यक छैन। औपचारिक कक्षामा नै यसलाई पढाउन, बुझाउन सकिन्छ र बिद्यार्थीले कुनै कठिनाई महसुस नगरेरै गणितमा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरणको निर्माण गर्न सकिन्छ भनेर सम्पुर्ण गणित शिक्षक,बिद्यालय अनि अभिभावकले बुझ्नु नितान्त जरुरी छ। गणित पढाउने शिक्षकहरुले गणितलाई संगीत र कविता झै रसिलो बनाएर विद्यार्थीहरुलाई कसरी बुझाउन सकिन्छ भनेर सोच्ने कि!