शिक्षक राजनीतिक खिचातानीमा पर्नु हुन्नः सह–प्राध्यापक साउद
धनगढी: मोहन सिंह साउद कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक हुन्। उनले अंग्रेजी विषयमा एमए गरेको र अध्यापन पनि अंग्रेजीमै गराउने भए पनि मौलिक भाषा र परम्परा प्रवर्द्धन गर्नुपर्छ भनेर आलेख लेख्ने, कविता लेख्ने र साहित्यिक गतिविधि गरिरहेको देख्न सकिन्छ।
यसरी साहित्यप्रतिको रुचि निर्माण कसरी भयो भनेर उनलाई सोध्दा, उनी भन्छन् ‘एउटा व्यक्ति मरिसकेपछि पनि उ अमर रहने गर्छ। जस्तो अहिले पनि बालकृष्ण सम, सेक्सपियेर, लक्ष्मीप्रसाद देवकोटाहरु जिवित छन्। उनका कृतिहरुका कारणले।’ यहाँ हरेक कुरा अस्थायी छ। केही समयको लागि मात्रै हरेक कुरा आउने गर्छ। तर साहित्य यस्तो चिज छ जो सदैव रहिरहन्छ। फेरि साहित्यिक माध्यमबाट हरेक कुरा प्रवर्द्धन गर्न सकिने धेरै ठाउँमा पुर्याउन सकिने हुन्छ। यही कारणले म साहित्यप्रति रुचिकर छु।’
साउदले अध्यनका लागि मध्यम वर्गीय आम नेपालीले गर्दै गरेको संघर्ष जसरी संघर्ष गरे। कालोपाटी र खरी उनी अझै सम्झन्छन्। उनलाई याद छ उनले ६ कक्षामा पुगेपछि मात्रै फूल पाइन्ट लगाएका थिए। आठ कक्षामा पुगेपछि बल्ल जुत्ता लगाएका थिए।
दश कक्षा सम्मको पढाई अछामको आफू जन्मेकै गाउँको स्कुलबाट गरेका साउद ती दिनको कुरा सम्झन्छन्, ‘दुई घण्टाको बाटो हिँडेर गाइबाख्रा चराउन जंगल जाने गर्थे। त्यही अंग्रेजी, नेपाली शब्दहरु याद गर्ने गर्थे। एसएलसीपछि साथीहरूको लहलहैमा काठमाडौं जाने भए। काठमाडौं पनि बुवालाई ठाटेर गए। त्यो समयमा पढ्ने भनेको विषय विज्ञान मात्रै भन्ने थियाे। मैले विज्ञान पढिरहेको भनेर भने तर पनि म शिक्षा पढिरहेको थिए। पछि परिवारमा यो कुरा थाहा भयाे। तर पनि गणित र अंग्रेजी लिएर आइएड गरे र गाउँ फर्किए। केही महिना गाउँमा पढाए अनि केहि समय ट्युसन पनि पढाए। पैसा जम्मा गरेर बिएड अध्ययन गर्न काठमाडाैँ गए।’
साउदको सपना पनि शिक्षक हुने थियो। उनले काठमाडौं जाँदा पनि शिक्षक कसरी बन्ने भनेर कोसिस गरे। त्यो सपना पुरा भयो पनि। उनलाई शिक्षक पेसाले पाउनुपर्ने सम्मानको विषयमा प्रश्न गर्दा भन्छन् ‘विकसित देशमा त शिक्षकको कुरा अकाट्य हुन्छ। एउटा फरकै किसिमको सम्मान शिक्षकलाई दिइन्छ। हाम्रो देशमा त्यस्तो छैन तर अब बिस्तार हुन्छ होला।’
किन यस्तो भएको होला त ? भन्ने प्रति प्रश्नमा उनी थप्छन्। ‘केही सिमित व्यक्तिहरु जसले पेसालाई नै धमिल्याएका छन्। राजनीतिक खिचातानीमा शिक्षक पर्नु हुन्न तर भइरहेको हुन्छ। यसले पनि पाउनुपर्ने सम्मानमा फरक भएको हुनसक्छ। सरकारहरुका नीति र आम मानिसहरुको बुझाइमा फरक पर्नु आदि कारण मान्न सकिन्छ।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक मोहन सिंह साउदसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)