सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर बजारका सडकमा खाल्टैखाल्टा, दैनिक दुर्घटना

२०७८ मंसिर २३, ०२:०७ विन्दु चन्द

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारको मुख्य चोकको अवस्था बिजोग छ। मुख्य चोक तथा सडकमा खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन्। महेन्द्रनगर बसपार्क अगाडी, गल्ली जाने मुख्य सडकको अवस्था बिजोग हुँदा सस्या भइरहेको उनीहरुको गुनासो छ।  

सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा सास्ती खेप्नु परिरहेको महेन्द्रनगरका सवारी चालक मोहन सिलाल बताउँछन्। ‘खाल्डाखुल्डीका कारण गाडी पल्टीने डर हुन्छ। डरै डरले सवारी चलाउनुपर्ने अवस्था छ। मुख्य सडकको अवस्था विजोग हुँदा पनि कुनै निकायले चासो देखाएको छैन’ उनले भने। 

खाल्डाखुल्डी कै कारण सो सडकमा जाम समेत हुने गरेको छ। जाम हुँदा हिँडडुलमा समेत समस्या भइरहेको अर्का स्थानीय प्रेमबहादुर धामीले बताए। उनले भने, ‘साँझको समयमा त झन समस्या हुन्छ। अगाडीबाट गाडी आउदा आँखामा लाइट लाग्छ। अगाडी हिन्दा खाल्डो छ भन्ने देखिँदैन। त्यसले दुर्घटनाको जोखिम बढाएको छ।’ 

सो सडकहरुमा सानादेखि ठूला गाडीहरु गुड्छन्। उक्त सडकहरुमा दैनिक ५/६ दुर्घटना भइरहने एक पसल व्यवसायी पुष्कर ठकुराठी बताउँछन्। ‘यहाँ कम्तीमा दिनमा ५ देखि ७ दुर्घटना हुने गरेका छन्। बसपार्क जाने मुख्य बाटोको अवस्था यस्तो छ। यहाँबाट थुप्रै गाडी गुड्छन्’  उनले भने। मोटरसाइकल, साइकल, अटो रिक्सा बढी दुर्घटनामा पर्ने गरेको उनले बताए। 

सडक अव्यवस्थित भएका कारण व्यवसायमा समेत असर परिरहेको अर्का पसल व्यवसायी पदमराज पाण्डेले बताए। उनले भने, ‘धुलो हुन्छ, यसले नयाँ सामान पनि पुरानो जस्तो देखिन्छ। जसकाकारण हामीले घाटा व्यहोर्नुपरेको छ। सडकमा पुनः पिच गरे सबैलाई सहज हुने थियो।’ उक्त सडकमा बर्खायाममा झन समस्या हुने गरेको गुनासो उनको छ। 

नगर क्षेत्रको अवस्था बिजोग भएपनि व्यवस्थापनका लागि नगरपालिकाले कुनै चासो नै नदेखाएको गुनासो गरिएको छ।  तर नगरपालिकाले भने चालु आर्थिक वर्षमा सडक बोर्डबाट आएको बजेटबाट सडक मर्मतको काम भइरहेको जनाएको छ। केही ठाउँमा सडक मर्मत गरिसकिएको र केही ठाउँमा मर्मतको काम जारी रहेको भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंहले बताए।

उनले भने, ‘२/३ वर्षदेखि बजार क्षेत्रमा सडक मर्मत गर्न नगरपालिकाले छोडिसकेको छ। एसियाली विकास बैँक तथा नेपाल सरकारको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यक्रम अन्तरगत १४ किलोमिटर ढलसहित नयाँ बाटो बनाउने भनेर प्रस्तावित भएको छ।’ नयाँ सडकका लागि ठेक्का भइसकेको समेत उनले बताए। नयाँ सडक निर्माण गर्न ठेक्का भइसकेकाले नगरपालिकाले लगानी लगाउन नमिल्ने उनको भनाइ छ। तर सडक निर्माणमा भने ढिलाइ भएको बताइएको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस