सुदूरपश्चिममा मंगलबार र शुक्रबार बढी सवारी दुर्घटना
सुदूरपश्चिमेलीहरुले अकालमै ज्यान गुमाउनुपर्ने विभिन्न कारण मध्ये सवारी दुर्घटना पनि एक हो। सवारी दुर्घटनामा परेर वर्षेनी सयौँले अकालमै ज्यान गुमाउनुपर्ने सुदूरपश्चिमबासीको बाध्यता बनेको छ। सुदूरपश्चिममा मंगलबार र शुक्रबार बढी सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अन्य बार भन्दा तुलनात्मक रुपमा मंगलबार र शुक्रबार बढी सवारी दुर्घटना हुने गरेको छ। चालु आर्थिक वर्षको चार महिना (साउन, भदौँ, असोज र कार्तिक)मा सुदूरपश्चिममा भएका ५४ सवारी दुर्घटना भएकोमा मंगलबार र शुक्रबार मात्र २६ दुर्घटना भएका छन्।
सबैभन्दा बढी कार्तिकमा मंगलबार र शुक्रबार गरेर १२, भदौँ र असोजमा ६/६ तथा साउनमा दुईवटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। यस्तै चालु वर्षको चार महिनामा आइतबार सात, सोमबार पाँच, बुधबार सात, बीहिबार छ र शनिबार तीन गरेर जम्मा ५४ सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
ती सवारी दुर्घटनामा परेर ४५ जनाको मृत्यु भएको छ भने एक सय ५४ जना घाइते भएका छन्। मंगलबार र शुक्रबार हुने सवारी दुर्घटनाको कुनै छुट्टै कारण नभए पनि प्रहरीले साँघुरो सडक उसैमाथि क्षमता भन्दा बढी यात्रु हालेर चालकले तिव्र गतिमा गाडी हाक्दा सवारी दुर्घटना हुने गरेको प्रहरीले बताउदै आएको छ।
सवारी दुर्घटनाको प्रमुख कारण नै चालकको लापरवाही भएको दावी गरिन्छ भने तीव्र गति, यान्त्रिक समस्या, स्यंयम यात्रुको गल्ती, ओभरटेक गर्ने वानी, मदिरापान सेवन गरेर सवारी चलाउनु र अन्य कारणले पनि सवारी दुर्घटना हुने गरेका छन्। भौगोलिक अवस्था र कमजोर सडक निति पनि दुर्घटनाको कारण भएको बताईन्छ।