म पुस पन्ध्र र मेरा दौतरी
पुस पन्ध्रसँग मेरो गज्जवको नाता छ । मेरो विगत र बाल्यकाल सम्झिदा म पुस पन्ध्रलाई नै सम्झिन्छु । यो दिन अस्मरणिय छ मेरो लागि । हरेक वर्षको पुस पन्ध्र आउँछ र जान्छ मेरा अतितका पलहरु बिसाएर । म आफै कल्पिन्छु,सोच्छु र मनन् गर्छु । फेरी सोध्छु आफैलाई किन छोडिस् ति अतितहरु ? भन्नेहरुले त भन्ने गर्छन जिवन यात्रा हो । अहँ जिवन यात्रा हुनै सक्दैन । यदि जिवन यात्रा हो भने फेरी घुमिफेरी त्यहि ठाउँ र परिवेशमा आउन सकिदैनथ्यो होला र ? नकि फेरी मैले मेरो बाल्यकालमा प्रवेश गर्न सकुँ । र फेरी मनाउन पाउँ यहि पुस पन्ध्र ।
स्याउली गोठमा स्याउलाको खासखुस आवाज । केटाहरुले खित्का छाडेर हाँसेको लहरे हाँसो । एकले अर्कालाई चिमोट्न खाज्ने हाम्रो प्रतिस्पर्धा । त्यहि हल्ला सुनेर बाजेले भाँटो ल्याएर केटाहरुलाई धपाएको अविस्मरणिय घटनालाई के म बिर्सिन सकुँला र ? गाउँभरीका केटाकेटी जम्मा गरेर नाचगान गरेका दिनहरु । खुल्ला ठाउँमा गएर मिठा–मिठा खानेकुराहरु पकाएका रातहरु । सकि नसकी देउडा खेल्दै बुनेका फुच्चे मायाजालहरु । पल्लो गाउँका केटीहरुका नानाथरी कुराहरु लगाएर बिताएको त्यो पुस पन्ध्र साँच्चिकै नबिर्सि सक्नुछ । अनि जागराम बस्छु्र भनि घरमा पैसा मागेको र दौतरीहरु सँग स्याउली गोठमा गएर भुसुक्कै निदाएको पुस पन्ध्र पनि मानसपटलमा ताजै छ ।
यो पुस पन्ध्र सबैले मनाउँछन् होला । नेपाल बहुजाती,बहुधार्मिक,बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ सबै जातजातीका आ–आफ्नै र भिन्न भिन्नैका चाडपर्व र संस्कारहरु छन् । ति मध्ये पुस पन्ध्र पनि एक महत्वपुर्ण र बिशेष पर्व हो । हिमाल पहाड र तराई सबै ठाउँमा पुस पन्ध्र मनाईन्छ । यो समय चिसोको हो । त्यसले पनि बिभिन्न ठाउँमा रातभरी आगो बालेर जागराम बस्ने गर्दछन् । बुढापाकाहरुका सुन्दर–सुन्दर कथा कहानी सँगै मिठा–मिठा परिकारहरु खाएर पुस पन्ध्र मनाईने गरिन्छ । बिभिन्न जातजातीले पुस पन्ध्रलाई आफ्नै तरिकाले मनाउने गर्दछन् । तर यसको सान्र्दभिकता र मुल आशय भनेकै मेलमिलाप एक अर्का विचको सम्बन्ध सद्भाव कायम गर्नु हो । यहि पुस पन्ध्रले मेरो र मेरा दौतरीहरु बिचको सम्बन्ध प्रगाढ बनाएको थियो । गाउँभरी नाचगान मच्चाएको थियो । एक डण्डा उखु भाँचेकै कारण तल्लोघरको काकीको गाली खुव सहनु परेको थियो । बुवालाई पैसा माग्ने चाल बनेको थियो पुस पन्ध्र । अनि साँच्चिकै जानी नजानी पल्लो गाउँको तरुनीहरु सँग देउडाबाटै भएपनि फुच्चे मायाजाल बुन्ने माध्यम बनेको थियो पुस पन्ध्र ।
त्यो समय,त्यो बाल्यकाल,त्यो साथ र ति दौतरीहरु आज म देखि धेरै टाढा छन् । तर यो पुस पन्ध्र भने आईरहन्छ हरेक वर्ष । र सोच्छ मलाई कहाँ गए तेरा ति दौतरीहरु ? म नाजवाफ हुन्छु बिभोर हुन्छु उसको अगाडी । आज पनि त्यही पुस पन्ध्र फेरी आएको छ । मलाई सोध्छ होला । म के जवाफ दऊँ भन्नुहोस् त ? प्रतिक्षामा छु । जहाँ हुनहुन्छ तपाई सबैलाई पुस पन्ध्रको शुभकामना ।
सन्तोष रोकाया
धनगढी कैलाली