बन्दमा यात्रु दिनभर अलपत्र, गरिखानेलाई सास्ती
धनगढीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण धनगढीमा टाढा जाने यात्रुहरु दिनभर अलपत्र परेका थिए। काम विशेषले राजधानी आएका नागरिक अलपत्र परेका हुन्। उनीहरुले विभिन्न राजनीतिक दलहरुका कारण जहिलै नागरिकले मात्रै सास्ती भोग्नुपर्ने गुनासो गरेका छन्। विभिन्न बहानामा गर्ने हड्ताल र बन्दका कारण सास्ती खेप्नु परिरहेको उनीहरुको गुनासो छ।
बन्दकै कारण आफुले दिनभर सडकमा अलपत्र पर्नुपरेको कञ्चनपुरको गुलरियाका टेकबहादुर कुंर बताउँछन्। उनले भने, ‘जनताहरुलाई मात्रै दुःख दिइन्छ। यसरी दुःख दिएर बन्द गर्नुको कुनै औचित्य छैन।’ काम विशेषले उनी धनगढी आएका थिए। तर उनलाई घर फर्किन साँझको ५ नै बजाउनुपर्याे। ‘अटो त चलिरहेका थिए। तर के गर्ने १ सयमा पुगिनेमा हजारभन्दा बढी भाडा लागिरहेको छ’ उनले भने। बन्द गर्नु जनताको हितका लागि नभई लुट्न भएको उनको गुनासो छ।
दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुर पनि बन्दकै कारण समस्यामा पर्ने गरेको बताउँछन्। ‘दैनिक काम गरेर गुजारा चलाउछौँ। कहिले केहीको बन्द कहिले केहीको भनेर खाली सास्ती मात्रै भोग्नुपर्छ’ धनगढीकी सुरी दमाई भन्छिन्। उनी बन्दकै कारण सडकमा २ घण्टा बढी हिँड्नु परेको बताउँछिन्। ‘थोरै भएपनि परिवारलाई खर्चको जोहो गरिन्छ। तर एक दिन काममा नगए ठुलो घाटा हुन्छ’ उनले भनिन्।
धनगढीमा कतिपय वर्ग त सुदूरपश्चिमको पहाडी जिल्लाबाट आएर कोठा भाडामा लिइ अटो रिक्सा चलाएर गुजारा चलाइरहेका छन्। दैनिक १५ सय देखि २ हजारसम्म कमाई हुने गरेकोमा बन्दका कारण घाटा व्यहोर्नुपर्ने अटो चालक बताउँछन्। एक अटोचालक चम्पालाल शर्मा भन्छन, ‘डेरामा बस्छौँ। मूल्य वृद्धिका लागि गरेको यो दबाब सहि हो। तर गरिखाने वर्गलाई सास्ती दिएर यस्तो गर्नु उचित होइन। यसको अन्य विकल्प पनि हुन्थ्यो।’
सोही कामबाट आफूहरुले परिवारको खर्च चलाउँदै आएको धनगढीकै अर्का अटो चालक लक्ष्मण अधिकारी बताउँछन्। बन्दका कारण नागरिकमा नराम्रो असर परेको उनी बताउँछन्। ‘धेरै ठाउँमा सवारीसाधनमा आगजनी गरिदिएको पनि सुनिन्छ, सामाजिक सञ्जालमा देखिन्छन्’ उनले भने, ‘यात्रुहरुलाई सेवा दिन हामी अटो चलाउँछौँ। कतै जलाईदिन्छन् कि भन्ने डर हुन्छ। डर र त्रासमा साधन चलाउनुपर्ने बाध्यता छ।’
मंगलबार बिहानैदेखि धनगढीसहितका विभिन्न ठाउँमा सार्वजनिक सवारीहरु चलेका थिएनन्। साँझ ५ बजेपछि भने बन्द खुलेको छ।