सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुब्ने धनगढीमा एकतर्फी नालीका सडक, झनै डुबान हुने चिन्ता

२०७८ कार्तिक ३०, ११:४९ विन्दु चन्द

धनगढी: धनगढीको जालीमा ढाई करोड बढीको लगानीमा सडक निर्माण भइरहेको छ।  दाहालचोकदेखि जाली चौराहासम्म १८ सय मिटर सडक निर्माण भइरहेको हो। उक्त योजना ३ वर्षीय रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।  तर उक्त सडकमा एकतर्फी मात्रै नाली निर्माण भइरहेको छ। निर्माणाधीन सडक बस्ती भन्दा उचाइमा हुँदा तथा निर्माण गरिएको नाली पनि घरभन्दा उचाइमा हुँदा डुबानको समस्या आउनसक्ने स्थानीय प्रकाशबहादुर शाहीले बताए। 

सडक निर्माणको कार्य सही भएपनि नाली बस्ती भन्दा उचाईमा हुँदा समस्या हुने बताउँदै उनले भने, ‘काम ठिक छ तर एकतर्फी नाली बनाइएको छ। त्यो पनि बस्ती भन्दा उचाईमा। बस्तीको पानी निकास हुने ठाउँ नै भएन। होम पाइपका लागि आग्रह गर्दा पनि घरहरुलाई नभएर सडकलाई हेरिएको भन्नथाले।’ 

हरेक वर्ष डुबानको समस्या झेल्दै आएकोमा नाली नहुँदा झन समस्या थपिने अर्का स्थानीय नरेन्द्र बोहराले बताए। ‘हाम्रो माग भनेको होम पाइप लगाइदिने हो। तर कसैले सुन्दै सुन्दैनन्। कसलाई भन्ने। उस्तै त डुबान हुन्छ’ उनले गुनासो गरे। एकातिर उचाईमा र अर्कोतर्फ एकतर्फी मात्रै नाली बनाइँदा सास्ती खेप्नुपर्ने उनले बताए।  उनले दुवैतिर नाली निर्माण गरिदिन माग गरेको भएपनि बेवास्ता भइरहेको बोहराले बताए।

तर धनगढी उपमहानगरपालिकाले भने स्टिमेट अनुसार नै काम भइरहेको दाबी गरेको छ। उपमहानगरका इन्जिनियर दिजराज भट्ट भन्छन्, ‘यो ३ वर्षीय योजना हो। अर्को नाली निर्माण गर्न नयाँ टेन्डर गरिन्छ।’

उक्त योजना धनगढी उपमहानगरपालिकाले २०७७ असार १६ गते टेडी कन्सट्रक्सनसँग २०७९ मा सक्नेगरी सम्झौता गरेको थियो। प्रदेश सरकारबाट समपुरक अनुदानमा आएको एक करोड र बाँकी उपमहानगरपालिकाको लगानी गरी २ करोड ७८ लाख ४५ हजारमा योजनाको सम्झौता गरिएको इन्जिनियर भट्टले बताए। 

अहिलेसम्म सो सडक निर्माणमा एक करोड ५६ लाख ६४ हजार भुक्तानी भइसकेको छ। सो सडकमा ७० प्रतिशत काम भइसकेको टेडी निर्माण सेवाका प्रतिनधि ज्ञानु वलीले बताए। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस