दार्चुलाको छाङरु र तिंकरमा समेत जनगणना गर्न भारतको अवरोध, अनुमति दिएन
धनगढीः देशभर जनगणना सुरु भएको छ। तर, दार्चुलाको ब्यास गाउँपालिका १ को छाङरु र तिंकर गाउँमा भने आइतबारसम्म जनगणना सुरु भएको छैन। जनगणनाका लागि छाङरु र तिंकर गाउँमा गणक पठाउन समस्या भएकाले जनगणना गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ।
ब्यास क्षेत्र जाँदा भारतको बाटो प्रयोग गर्नुपर्ने हुन्छ। सो क्षेत्र जान भारतीय अनुमति चाहिन्छ। अतिक्रमित क्षेत्रमा समेत जनगणना गर्ने दाबी गरिरहेको सरकारले नेपालकै भोगचलन र स्वामित्वमा रहेका गाउँमा समेत जनगणना गर्न कठिन भएको छ भारतले गुञ्जी, नाभी र कुटीलगायतका माथिल्लो क्षेत्र नोटिफाइड एरिया घोषित गरिएकाले उक्त क्षेत्रमा प्रवेश गर्दा अनिवार्य पास माग्ने गरेको छ। ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ।
भारतले अनुमति नदिँदा गणकलाई फिल्डमा पठाउन नसकिएको दार्चुलाका जिल्लाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्कीले बताए। उनले भने, ‘हामी अनुमतिका लागि समन्वय गरिरहेका छौँ। घरपरिवार सूचीकरणका लागि जाँदा पनि अनुमति नै मागेर गाएका थियौं। अहिले अनुमति दिन मानेको छैन।’ दार्चुलामा जनणनाका लागि १८३ गणक खटाइएको छ। गाउँपालिकाका अन्य वडामा समयमै गणकहरु पुगे पनि वडा नम्बर १ मा जान भारतले अवरोध गर्दा अझ पनि पुग्न नसकेको कार्कीको भनाइ छ।