सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्थानीय तहहरु धमाधम करारमा कर्मचारी भर्ना गर्दै

२०७८ कार्तिक २८, ०२:१८ खबर संवाददाता

धनगढीः स्थानीय तहहरुले करारमा कर्मचारी भर्ना गर्न प्रतिस्पर्धा गर्न थालेका छन्। प्रदेश लोक सेवा आयोगले असोज १० गते स्थानीय तहहरुलाई कानून विपरीत कर्मचारी भर्ना नगर्न परिपत्र गरेको भएपनि स्थानीय तहले भने कर्मचारी भर्ना गर्न रोकेका छैनन्।

यसैबीच दार्चुलाको मालिकार्जुन गाउँपालिकाले भने असोज १३ र १५ गते विभिन्न तहका १५ जना कर्मचारी भर्ना गर्न विज्ञापन गरेको छ। गाउँपालिकाले कम्प्युटर सहायक चौथो पदका लागि ८ जना, असिस्टेन्ट सब ओभरसियर ३ जना, भेटेरीनरी जेटिए ३ जना तथा उद्यमशील विकास संयोजक छैठो तहका लागि १ जनासहित १५ पदको लागि खुला विज्ञापन गरेको छ। लोक सेवा आयोगले आफूखुशी कर्मचारी भर्ना नगर्न पत्राचार गरेको भएपनि स्थानीय तहको स्वीकृत दरबन्दीमा विज्ञापन नखोलेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले दिनेशखबरलाई बताए।

'हामीले स्वीकृत दरबन्दीको रिक्त पदमा विज्ञापन गरेका होइनौँ।' उनले भने, 'संघ, प्रदेश र स्थानीय तहको स्वीकृत बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी भर्ना गर्न खोजेका हौँ।' अध्यक्ष धामीले स्वीकृत दरबन्दीमा रिक्त भएका पदको विवरण भने प्रदेश लोक सेवा आयोगलाई पठाइसकेको बताए। दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकाले पनि धमाधम करारमा कर्मचारी भर्ना गर्ने अभियान नै चलाएको स्थानीयले आरोप लगाएका छन्।
 

कमेन्ट लोड गर्नुस