दार्चुलामा करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या आशंका
दार्चुला: गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको मार्मा बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ। मार्मा गाउँपालिका– ४ बिम्थी बसरका महराको वडा नम्बर– २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो।
उनको हत्या गरिएको आशंका रहेको मृतकका भतिज सुरेन्द्र महराले गरेका छन्। ‘घटनास्थलमा एक थोपा रगत छैन। लटिनाथ स्वास्थ्यचौकीमा पुग्दा १०–१५ लिटरजति रगत बगेको छ। टाउकोमा गम्भीर चोट लागेको छ। करेन्ट लागेको भए चोट कसरी लाग्यो ?’ उनले प्रश्न गरे। उनले महराको हत्या गरिएका प्रमाणहरू फेला पर्न थालेकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। मृतकका आफन्त घटनास्थलमा नपुग्दै महरा घाइते भएको भनी अन्यत्रै लगिएको स्थानीय प्रकाश धामीले बताए।
मिस्त्री काम गर्दै आएका महराको शव पोस्टमार्टमका पश्चात आफन्तले बुझेका छन्। उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मृतकका आफन्तले हत्याको आंशकासहित जाहेरी दिएकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।