बालबालिकामा सकारात्मक बानी विकास गराउने केही उपायहरु
सबै आमाबाबुलाई आफ्ना छोराछोरीको बारेमा चिन्ता र चासो हुनु स्वाभाविक हो।बालबालिकामा सकारात्मक बानीको बिकासका लागि उनीहरुको आनीबानी अनि शारीरिक,मानसिक र सामाजिक बिकासमा प्रयाप्त ध्यान अभिभावकहरुले दिन सक्नुपर्छ। बालबालिकाको सर्बाङ्गीण बिकासमा पारिवारिक र सामाजिक वातावरणको महत्वपूर्ण भुमिका रहेको हुन्छ। बालबालिकामा सकारात्मक गुण र बानीको विकास गर्न आमाबाबुले उचित वातावरणको निर्माण गर्न सक्नु पर्दछ। असल पारिवारिक र सामाजिक वातावरण सङ्गै बालबालिकाहरुको साथी समूह पनि असल हुनु एकदम जरुरी हुन्छ। बालबालिकाहरुमा शारीरिक र मानसिक दण्ड सजाय बिना सकारात्मक बानीको विकास गर्न सकिन्छ। बालबालिकामा सकारात्मक बानीको निर्माण गर्न निम्न उपायहरू सहायकसिद्ध हुनसक्छन्।
क) बालबालिकाहरुलाई फकाउने:- आमाबाबु,अभिभावक र शिक्षकहरुले बालबालिकाहरुमा असल बानीको बिकास गराउछु भनेर डराउने,धम्काउने,कुटपिट गर्ने कार्य कहिल्यै गर्नु हुँदैन। कुनै पनि कार्य गराउछु भनेर हामीले शारीरिक र मानसिक यातना दिने भनेर सोच्नु पनि हुँदैन। बालबालिकाहरुसङ्ग प्रयाप्त कुराकानी गर्ने, उनीहरुले गरेका गुनासाहरु सुन्ने अनि समाधानका लागि आफुलाई सदैब तत्पर राख्ने,आमाबाबु र शिक्षकहरुले आफ्ना जिवनका महत्वपूर्ण अनुभवहरु कथाको माध्यमबाट भन्न सकियो भने बालबालिकाहरुलाई सजिलै फकाएर सहि मार्गमा डोर्याउन सकिन्छ। फकाएर कुनै पनि काम गर्न लगाउदा बालबालिकाहरुले नकार्न सक्दैनन्।गृहकार्य गराउन,पढाइमा लगाउन,ब्यक्तिगत सरसफाइ र असल बोली र व्यवहार प्रदर्सन गराउन आमाबाबुले मात्रै होइन शिक्षकले समेत बालबालिकाहरुलाई फकाउन सक्नुपर्छ।
ख) बालबालिकाहरुको कामलाई प्रोत्साहन र पुरस्कृत गर्ने:- आमाबाबु र शिक्षकले यदि आफ्ना छोराछोरी र विद्यार्थीले सदैव प्रगती गरून् भन्ने सपना र चाहना साचेका छन भने बालबालिकाका असल र सफल कामहरुलाई उचित प्रोत्साहन र पुरस्कृत गर्न कन्जुस्याइँ गर्नु हुँदैन। प्रोत्साहन र पुरस्कारले बालबालिकालाई असल कार्य गर्न प्रेरित गर्दछ। तसर्थ बालबालिकाहरुलाई असल र सफल ब्यक्ती बनाउन चाहानुहुन्छ भने बालबालिकाका हरेक कार्यहरुको मुल्यांकन गरि उचित प्रोत्साहन दिनुपर्ने हुन्छ।
ग) बालबालिकालाई प्रयाप्त समय दिने:- आमाबाबुले आफ्ना छोराछोरीहरुलाई प्रयाप्त समय दिनसक्नु पर्दछ। उचित समय दिनसक्दा अभिभावक र बालबालिकाहरुको बिचमा बलियो मनोबैज्ञानिक सम्बन्ध निर्माण हुनजान्छ जसले गर्दा बालबालिकाले सजिलै आफुमा आइराखेका शारीरिक,मानसिक र जैविक परिवर्तन बारे खुलेर आमाबाबुलाई भन्न सक्दछ्न। जसले गर्दा परिवर्तनका विभिन्न आयामहरुलाई आमाबाबुले सजिलै मार्गदर्शन गर्न सक्दछ्न। बालबालिकामा देखिने तिब्र परिवर्तनको उचित ब्यवस्थापन गर्न आमाबाबुले छोराछोरीहरुसङ्ग प्रयाप्त सम्बाद गर्नुपर्ने हुन्छ। आमाबाबुले छोराछोरीहरुलाई समय दिन सक्यो भने उनीहरुमा समयक्रममा आउन सक्ने बिचलनहरुको समेत उचित निदान गरेर समाधान गर्ने अवसर प्राप्त हुन्छ। आमाबाबुले बिदाको दिन घुमघाम र पारिवारिक भेटघाट र जमघटमा जाने, धार्मिक,सास्कृतिक कार्यक्रमहरुमा आफुसङ्गै बालबालिकाहरुलाई समेत सहभागी गराउदा उनीहरुको रुचि, सामर्थ्य र सामाजिक व्यवहारको उचित बिकास गर्न सकिन्छ साथै आफ्ना छोराछोरीका समस्या पनि बुझ्ने अवसर प्राप्त हुन्छ। आमाबाबुले जति धेरै समय आफ्ना छोराछोरीलाई दिन सक्यो त्यति नै सजिलै बालबालिकामा सकारात्मक र सहि गुण्हरुको बिकास गर्न गराउन सजिलो हुन्छ।
घ) बालबालिकाको शैक्षिक अवस्था र अन्य आनीबानीबारे विद्यालयमा गएर सोधपुछ गर्ने:- बालबालिकामा सकारात्मक गुणहरुको बिकास गरि असल ब्यक्तितब निर्माण गर्न बिद्यालय र शिक्षकहरुको भुमिका पनि अहम् हुन्छ।शिक्षकहरुले सबै बिद्यार्थीहरुको निष्पक्ष मुल्यांकन गर्न सक्ने क्षमता राख्दछ्न। आफ्ना छोराछोरीको शैक्षिक अवस्था र अन्य आनीबानी तथा साथी समुहबारे थप जानकारी लिन र उचित पृष्ठपोषणका लागि समय समयमा आमाबाबुले बिद्यालयमा गएर प्रधानाध्यापक र अन्य विषय शिक्षकहरुबाट जानकारी लिनु पर्दछ।
ङ) बालबालिकाहरुका रुचि,इच्छा,चाहना र सपना बुझ्ने:- आमाबाबुले आफ्ना छोराछोरीको रुचि,चाहना,इच्छा र सपनाहरुको सम्मान गर्न सक्नुपर्छ। उनीहरुका रुचि अनुसारको कार्य गर्न हौसला प्रदान गर्नुपर्ने हुन्छ जसले गर्दा अझै धेरै आत्मविश्वासका साथ बालबालिकाले आफ्नो रुचिको कार्य गर्न पाउँदा निश्चितरुपले सफलता हासिल गर्न सक्दछ्न। आमाबाबुले लुगाकपडा छ्नौट,भ्रमणस्थल छनौट,घरायसी प्रयोगका मालसामान खरिद गर्दा अनि पढाइको विषय छनौट गर्दा बालबालिकाको रुचि,चाहनको ख्याल गर्नुपर्ने हुन्छ। बालबालिकाका रुचि र छनौटमा आमाबाबुले समालोचनात्मक दृस्ठिकोण राख्न भने पछि पर्नु हुँदैन।
च) आमाबाबुले सदैब शुद्ध आचरण,नम्र र शिष्ट बोली र सकारात्मक चिन्तन प्रदर्शन गर्ने:- बालबालिकामा सकारात्मक, असल र सभ्य बानी ब्यवहारको बिकास गर्न आमाबाबुले आफुहरु नै उदाहरण बन्न सक्नुपर्छ।आमाबाबुका सबैजसो ब्यवहारहरुलाई बालबालिकाले नियालेर मुल्यांकन गरिराखेका हुन्छ्न। बालबालिकामा असल गुणको बिकास गराउन चाहने आमाबाबुले शुद्ध आचरणलाई आफ्नो जीवन दर्शन बनाउन सक्नुपर्छ। त्यसैगरी सदैव सबैसँग नम्र र शिष्ट बोली बोल्नु पर्दछ। एक सफल र असल अभिभावक त्यो हो जसले अफ्ना सन्ततिहरुलाई मनोबैज्ञानिक तवरले नै स्फटिक झै बलियो ब्यक्तिको रुपमा समाजमा उभ्याउने सामर्थ्य राख्दछ।
माथिका बुदाहरुमा ध्यान दिन सकियो भने आमाबाबुले आफ्ना सन्तानहरुलाई सजिलो जीवन निर्वाह गर्न सक्ने मान्छे बनाउन सक्दछ्न।माथिका कुराहरु मात्रै सफल र असल जीवन निर्माणका लागि प्रयाप्त नहुन सक्दछ्न।सचेत आमाबाबुले बालबालिकाका विभिन्न कुराहरुमा उचित ध्यान दिनसक्नु पर्दछ। बिद्यालयको पढाईका अतिरिक्त खेलकुद, मनोरञ्जन,गीत संगीत,लेखन,चित्रकला आदिको अभ्यास र साधनामा पनि आमाबाबुले बालबालिकालाई सहभागी गराउने गर्नु पर्दछ। असल र सकारात्मक सोच भएको ब्यक्तिको निर्माणद्वारा नै असल परिवार,समाज र राष्ट्रको निर्माण सम्भव छ तसर्थ सबैले आफ्ना छोराछोरीलाई असल ब्यक्ती बनाउन महत्वपूर्ण समय र लगानीको परिचालन गर्नुमा मानव जीवन र जगतको भलाइ हुने कुरामा पुर्ण आशावादी हुन सकिन्छ।