दोधारा चाँदनीका बाढीपीडितको सहारा भारत, नेपाल सरकार उदासीन
खेतमा लेदो र बालुवा, शौच गर्न महाकाली
कञ्चनपुरः शनिबार दिउँसो कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० सुर्खेता टोलकी क्षमा दमाई बाढीले क्षति पुर्याएको घर मर्मत गरिरहेकी थिइन्। घरमा लिपपोत गरिरहेकी उनको आँगनभरी धान र गहुँ छरिएका थिए। घरभित्र राखेको अन्न बाढीले बगाएर आँगनसम्म पुर्याएको थियो। ‘बाढीले सबै पखालेर लग्यो। खेत बगायाे, घरभित्रको अन्न पनि राखेन। घर फुटायो, अन्न राखेका भाँडा फुटायो। लत्ताकपडा केही राखेन’ उनले दुखेसो गर्दै भनिन्।
उनको १४ जनाको परिवार छ। खेतीपाती गर्दै आएको उनको परिवार सानो झुपडीमा बस्दै आएको थियो। गत अजोस ३१ गतेपछिको अविरल वर्षाका कारण बाढी आएपछि उक्त झुपडी पनि बगेकाले उनीहरु घर मर्मतमा जुटेका थिए। सोही टोलका धने रावत पनि घरकै लिपपोतमा व्यस्त थिए। घटना सम्झँदा उनको मन भतभती पोल्छ। ‘यस्तो होला भनेर सोचेका पनि थिएनाै। सब बगाएर लग्यो। खेत लग्यो। भित्रको अन्न लग्यो’ उनले भक्कानिँदै भने।
३ दिनसम परेको अविरल वर्षाका कारण महाकाली र जोगबुडा नदीको बाढी बस्तीमा पस्दा सो ठाउँका ८ सय परिवार विस्थापित भएका थिए। उनीहरुको घरहरुमा लेदो पसेको छ। खेतबारीको लेदो र पानी अझै सुकेकको छैन।
दोधारा चाँदनीमा बाढी पसेपछि ८ सय बढी परिवारहरको बिचल्ली भएको थियो। बाढीले धान सबै सखाप पारिदिएको छ भने किसानले लगाएको उखुमा समेत क्षति गरेको छ। ‘दसैँ छाडेर पनि धान काट्नमै यस्त भयौँ। काटेका धान सब बगायो’, स्थानीय कस्तुरी दमाईले भनिन्, ‘हामी त दुईदिन भोकै बसेर काट्न सक्छौ। तर केटाकेटीको चित्त कसरी बुझाउने ?’
३ दिनसम परेको अविरल वर्षाका कारण महाकाली र जोगबुडा नदीको बाढी बस्तीमा पस्दा सो ठाउँका ८ सय परिवार विस्थापित भएका थिए। उनीहरुको घरहरुमा लेदो पसेको छ। खेतबारीको लेदो र पानी अझै सुकेकको छैन। बाढी पसेको दोस्रो सातापछि यहाँका स्थानीय घर फर्किएका छन्। अहिले उनीहश्र घरको लेदो सफाई र घर मर्मत गरिरहेका छन्।
पीडितलाई भारतको सहारा, नेपाल उदासीन
महाकाली पारी ३६ बढी घरपरिवार बसोबास गर्दै आएका छन्। सबभन्दा पहिले महाकालीको सतह बढे उक्त बस्ती डुबानमा पर्ने गरेको छ। सो बस्तीमा घरको अन्न समेत बाढीले नराखेपछि भोकमरी नै हुने चिन्ता रहेको अवस्थामा भारतले हात बटारेको कस्तुरी दमाई बताउँछिन्। सो बस्तीमा भारतले राहत सामगी्र सहयोग गरेको उनी बताउँछिन्। यता नेपाल सरकार भने उदासीन बनेको स्थानीयको गुनासो छ।
ठूलो क्षति गर्दा पनि स्थानीय तहबाट कुनै सहयोग नपाएको अर्का स्थानीय धर्मेन्द्र सुनार बताउँछन्। ‘विवरण संकलन मात्रै गरे तर फर्केर कोही पनि आएनन’ उनले दुखेसो गर्दै भने, ‘ठूलो क्षति भयो, स्थानीय निकाय कानमा तेल हालेर सुतेको छ। केही खबरै छैन।’ तर भारतीय पक्षले भने पानी शुद्धिकरण गर्ने ओषधि वितरण गरेको र दुई दिन स्वास्थ्य शिविर गरेको उनले बताए।
खेतमा लेदो र बालुवा
उक्त क्षेत्रमा बाढीले खेतमा क्षति पुगाएपछि अब गहुँ छर्न समेत समस्या हुने भन्दै स्थानीय चिन्तित बनेका छन्। खेतहरुमा खेती नै गर्न नपाउने गरि लेदो तथा बालुवा भरिएको छ। ‘घरमा रहेको अन्नले केही महिना काम चल्थ्यो अर्को विकल्प रोजिन्थ्यो त्यो पनि बाँकी रहेन्। भोकमरी त अहिल्यै भइहाल्यो। वर्षभरि के खाउँला’ स्थानीय धने रावतले भने, ‘सरकारको भर गरे पनि अहिले त बेवास्ता गरिरहेको छ।’ सरकारले केही महिनाको गुजारा चलाउन राहत दिए तथा रोजगारीको व्यवस्था गरिदिए सहज हुने स्थानीयको भनाई छ।
शौच गर्न महाकाली नदी जानुपर्ने बाध्यता
बाढीले शौचालय भरिएका कारण शौच गर्न पनि समस्या भइरहको स्थानीयले बताएका छन्। जताततै लेदो छ। ‘बालबालिकालाई टाढा जान पनि समस्या भएको छ’ स्थानीय क्षमा दमाईले भनिन्, ‘ठूलो मान्छे त पारी नदीमा जानुपर्छ बालबालिकालाई रातिको समयमा समस्या भइरहेको छ।’ उक्त वडामा खानेपानीमा समेत समस्या देखिएको छ। लेदो भरिएको हुँदा पानीमा समेत गन्ध आइरहेको स्थानीयले बताएका छन्। जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या निम्तिने चिन्ता उनीहरुलाई छ।
सरकारसँग तटबन्धको माग
पीडित स्थानीयले सरकारसँग तटबन्धको माग गरेका छन्। हरेक वर्ष सो ठाउँका स्थानीयले डुबान र बाढीको समस्या झेल्दै आएका छन्। बस्तीमा बाढी पस्ने ठाउँमा ठूलो र बलियो तटबन्ध हालीदिए केही राहत हुने भनाई छ। ‘हरेक वर्ष डुबान हुन्छ। सरकारसँग बलियो तटबन्धका लागि आग्रह गर्दा पनि बेवास्ता भयो’ धने रावतले भने, ‘यत्रो क्षति भयो अब त देख्छ होला सरकारले। अरु भन्दा तटबन्ध गरिदेओस हामी ढुक्कसँग खान पाउँछौँ।’