सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा सामुदायिकले काठसहित बुझाएको तस्कर समूहलाई वनको उन्मुक्ति

२०८१ पुष १०, ०८:०९ कमल सावद

धनगढी : कैलालीको अत्तरियामा सामुदायिक वनका पदाधिकारीसहित उपभोक्ताहरूले तस्करीको काठ, ट्याक्टरसहित तीन जनालाई प्रहरीमा बुझाएकोमा वनले उन्मुक्ति दिएको छ। गोदावरी नगरपालिका–१ को जागृति महिला सामुदायिक वन समूहले तस्करीको काठ, ट्याक्टर र तीन जनालाई इलाका प्रहरी कार्यालय, मालाखेतीमा बुझाएकोमा सब–डिभिजन वन कार्यालय, अत्तरियाले उनीहरूलाई उन्मुक्ति दिएको हो।

जागृति सामुदायिक वन समूहमा मङ्गलवार खयर, सिसौ लगायतको एक ट्याक्टर काठसहित प्रहरीले सब डिभिजन वन कार्यालय, अत्तरियामा बुझाएकोमा उनीहरूलाई घर पठाइएको छ। सब डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निराजन कडेलले तस्करीमा प्रयोग गरिएको से १ त ६४४९ नम्बरको ट्याक्टर, तस्करीको काठ र प्रहरीसहित जागृति महिला सामुदायिक वनबाट पक्राउ गरिएका तीन जनालाई घर पठाएका विशाल भट्टले बताए। उनले भने, ‘२/२ जनाले पालै–पालो सामुदायिक वनको निगरानी गर्छाै। हिजो हाम्रो वनमा एक ट्याक्टरसहित तीन जना काठ काट्दै थिए। उहाँहरूलाई जङ्गलबाट तस्करी नगर्न भन्दा ३०/४० जनाको समूह आयो। बन्चरो र आरा थियो। आरा खोस्दा हाम्रो अध्यक्षको हात पनि काटिएको छ। पछि प्रहरीलाई खबर गरेका थियौ। काठसहितको ट्याक्टर, तीन जना प्रहरी ल्यायो। प्रहरीले वनमा बुझायो। आज बिदा थियो। भोलि कारबाहीका लागि अनुरोध गर्ने भनेको, आज वनले छोडेछ।’

जागृति महिला सामुदायिक वनबाट प्रहरी र उपभोक्ता मिलेर नियन्त्रणमा लिएका उनीहरूलाई सब डिभिजन वन कार्यालयले बुधवार बिदाको दिन घर पठाएको हो। इलाका प्रहरी कार्यालय, मालाखेतीले मङ्गलवार तीन जना व्यक्तिलाई, से १ त ६४४९ नम्बरको ट्याक्टर र काठसहित सब डिभिजन वन कार्यालयमा कारबाहीका लागि पठाएको बताएको छ। प्रहरीले पत्रसहित कारबाहीका लागि बुझाएकोमा वनले उनीहरूलाई उन्मुक्ति दिएको भट्टले बताए। खोलाले सामुदायिक वनको सिमाना छुट्याएको छ। तर, सब–डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निराजन कडेलले पञ्चकोटी सामुदायिक वनको पर्ची आएपछि छोडेको प्रतिक्रिया दिएका छन। उनले भने, ‘प्रहरीको पत्रमा सामुदायिक वन उल्लेख गएिको छैन। वसन्तपुर भनिएको छ। उहाँहरूले पञ्चकोटीबाट पुर्जी लिएको देखाउनु भयो। जागृतिका कोही पनि सम्पर्कमा आउनु भएन। पञ्चकोटीको उपभोक्ता र पर्ची भएकाले छोडेको हो। उहाँहरूले सामुदायिक वनको विधान अनुसार कारबाही गर्ने भन्नु भएको छ।’

कैलालीको गोदावरी–१ को जागृति महिला सामुदायिक वनमा काठ तस्करी गर्ने व्यक्ति पञ्चकोटी सामुदायिक वनको पुर्जीले छुटाइएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस