सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कांग्रेसबाट वडाध्यक्ष जितेका धामी बने एमालेको पालिका अध्यक्ष

२०७८ कार्तिक १३, ०१:३० खबर संवाददाता

धनगढीः दार्चुलामा स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्ष बनेका छन्। जिल्लाको व्यास गाउँपालिका ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन्।

बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको एमाले दार्चुलाले जनाएको छ। गत १० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंहले गाउँपालिका सभापतिमा दाबी गरेका थिए। पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो।

चुनावी प्रक्रियाबाट हारेपछि धामीले कांग्रेसीहरूले धोका दिएको भन्दै १७ असोजमा एमालेमा प्रवेश गरेका थिए।

कमेन्ट लोड गर्नुस