सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा जग्गा अधियाँ लिएर खेती गर्ने किसान मर्कामा, धान उम्रिएपछि बिल्लबाठ

२०७८ कार्तिक ८, १२:२६ विन्दु चन्द

धनगढी: शनिबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की लक्ष्मी चौधरी दुधे बालक पिठ्युँमा बोेकेर खेतमा डुबेको धान सडकमा सुकाइरहेकी थिइन्। पानीमै उम्रेको धान बटुलेर आफ्नो परिवारका अन्य सदस्यसहित धान सुख्खा ठाउँमा सुकाइरहेकी उनी चिन्तित देखिन्थिन्।  जग्गा अधियाँ लिएर उनले २ बिघामा धान रोपेकोमा वर्षाले सखाप पारेपछि उनलाई के खाने भन्ने चिन्ता छ।  ‘खेती गर्दा ५० हजार जति रकम खर्च गरेर धान रोप्यौँ। खेत जोत्ने, रोप्ने, मल लगायतमा ६० हजार बढी खर्च लाग्यो। सोच्यो भने धेरै चिन्ता हुन्छ’, उनले भावुक हुँदै भनिन्, ‘बाँडेर आधा अन्न जग्गा धनीले लग्छ, आधा राख्छौँ। त्यसैबाट खाने र त्यसैबाट अलिअलि गरि बेचेर खर्च जुटाउँछौ।’

अझै पनि थुप्रै धान खेतमै रहेको उनले बताइन्। खेतमा रहेका धान कुहिएको छ र अझ केही धान काट्न बाँकी रहेको चौधरीले बताइन्। ‘कसरी घर खर्च चलाउने, छोराछोरीलाई के खुवाउने यहि चिन्ताले सताउँछ’ गहभरी आसु पार्दै उनले भनिन्, ‘यत्रो खेती गर्दा पनि पुग्थेन अब पुरानो अन्न सकियो। यो वर्ष राम्रो धान फल्ला सोचेका थियाै‌ सब सखाप पार्‍याे।’ 

धान थन्क्याउने चटारोले दसैँ पनि राम्रोसँग मनाउन नपाइएको चौधरीले बताइन्। रोजगारी केही छैन यीनै धानको आसा थियो उनी भक्कानिइन्।’ आफूहरु ज्याला मजदुरी गर्दै आएकोमा धानका कारण त्यहाँ पनि जान नसकेको लक्ष्मी चौधरी बताउँछिन्। ‘धान पुरै उम्रिसकेको छ। अलि आशा छ अझै पनि सुकाएर थोरै पनि चामल निस्किन्छ कि भन्ने। त्यसैले काममा पनि जान पाइरहेका छैनौ’ उनले भनिन्।’ 

धनगढीकै कली राना पनि जमरा जस्तै उम्रेकै धान चुट्ने हतारोमा थिइन्। उनी केही चामल निस्किन्छ कि भन्ने आशाले उम्रेको र कुहिएको धान चुट्न एक ठाउँमा जम्मा गर्दै थिइन्। उनले पनि ३ बिघा जमिन अधियाँ लिएर धान खेती गरेकी थिइन्। ‘डेढ विघाको धान त सबै सखाप पार्यो। एक दाना पनि ल्याउन पाएनौँ। के खाने हो के गर्ने हो केही सोच्न सकिरहेको छैनौं’, उनले भनिन्, ‘यो धान पुरै उम्रिसक्यो थोरै त निस्किन्छ कि भनेर यस्तै चुट्न तयार गदैँछौँ।’ 
कैलाली–कञ्चनपुरमा अधिकांश किसानहरुले जग्गा धनीको जमिन अधियाँ लिएर खेती गर्दै आएका छन्। भित्र्याउन ठिक्क पारिएका धान तीन दिनको वर्षाले सखाप पारेपछि किसानहरु अहिले पीडामा छन्। तर प्रदेश सरकारले धान खेतीमा भएको क्षतिको पूर्णविवरण सङ्कलनको काम सुरु समेत गरेको छैन।

वर्षा भएको हप्ता दिन हुँदासम्म पनि कुनै पनि निकाय विवरण संकलन गर्न नआएको धनगढी उपमहानगरपालिका ३ की मलियादेवी सर्माले बताइन्। उनले भनिन्, ‘यत्रो दिन भइसक्यो अहिलेसम्म कोही पनि क्षतिबारे बुझ्न आएका छैनन्। मेहनत सब पानीले बगायो सरकारको के आश गर्नु?’

किसानहरुलाई ठूलो संकट पर्दा पनि किसानले भोग्नुपरेको पीडाको अनुगमन, निरीक्षणमा स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले बेवास्ता गरेको गुनासो धनगढीका किसान दुर्गाप्रसाद ओझाको छ। बेमौसमी विपद्ले ठूलो क्षति गर्दा पनि सरकारी निकाय उदासीन बनेको किसानको गुनासो छ। सरकारले राहत वितरण गर्नेमा उनीहरुमा आशा नभएको ओझा बताउँछन्।  उनी भन्छन्, ‘अहिलेसम्म कति क्षति भयो भनेर हेर्न कोही आएका छैनन्। राहत दिएपनि जो धनी छ, आफु निकट छ, उनीहरुले मात्रै पाउँछ। वास्तविक पीडितले पाउँदै पाउँदैन्। वास्तविक पीडितलाई कसैले हेर्दैन्।’ राहत पाउनेमा विश्वस्त नरहेको उनी बताउँछन्। 

यता प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल बोहराले भने स्थानीय निकायले क्षतिको विवरण संकलन गरिरहेको बताएका छन्। उनले भने, ‘स्थानीय तहले संकलन गरेको तथ्यांकको आधारमा प्रदेश सरकारले केही राहतका कार्यक्रम घोषणा गर्छ होला।’ स्थानीय तह, प्रदेश र संघीय सरकारले एकीकृत रुपमा कुनै एउटा राहतको प्याकेज ल्याउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस