बैतडीमा शिशु मृत्यु प्रकरणः ५ लाख क्षतिपुर्ती दिने सहमतीपछि अबरुद्ध सडक खुल्यो
बैतडीः बैतडीमा खोप लगाएको बालकको मृत्यु प्रकरणमा सहमती जुटेको छ। डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका थिए।
बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो। शिशुको शंकास्पद मृत्यु भएको घटनाका विषयमा ठोस अनुसन्धान गर्ने र उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको छ।
घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको गाउँपालिका उपाध्यक्ष भगिरथ सिंह बोहराले जानकारी दिए। गाउँपालिकाले ५ लाख क्षतिपुर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमती जुटेको स्थानीय ध्रुब रानाले बताए।
शवको पोष्टमाटम गरी छानबिन गरिने सहमती भएको छ। सहमती जुटेपछि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड पनि खुलेको छ। मृतक बालकको पोष्टमाटम गर्न शवलाई गोकुलेश्वर अस्पताल लगिएको छ।
गाउँपालिकाको तर्फबाट उपाध्यक्ष भगिरथ बोहरा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, वडा नम्बर-२ का वडा अध्यक्ष नवराज घरडी तथा वडा नम्बर-३ का वडा अध्यक्ष रघुबिर बोहरा र आफन्तबीच सहमती जुटेको हो।
बुधवार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो।
त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो। त्यसपछि दिउँसो ३ बजेदेखि जरो आएको र राति र्याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो। त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए।
त्यसपछि बिहिवार दिउँसोदेखि स्थानीयहरु आन्दोलित बनेका थिए। खोप लगाएपछि बालकको स्वास्थ्यमा समस्या देखिएको र त्यसपछि उक्त घटना घटेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने र उचित क्षेतिपुर्ती दिनुपर्ने मागसहित गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका थिए। सहमती जुटेपछि सडकपनि खुलेको छ।