सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हरायो लिंगे पिङको संस्कृति

२०७८ असोज २९, १२:४९ विन्दु चन्द

धनगढीः केही वर्ष अगाडिसम्म पनि दसैँमा पिङ खेल्दै रमाइलो गर्ने प्रचलन थियो। तर पिङ खेलेर एक पटक भुई छाड्नु पर्ने प्रचलन सुदूरपश्चिममा पछिल्ला वर्षमा हराउदै गएको छ। पहिले गाउँगाउँमा पिङ हाल्ने चलन थियो भने अहिले पिङ देख्नै मुस्किल हुन थालेको छ।

‘बाल्यकालमा खुबै रमाइलो गरिन्थ्यो, तर अहिले त सुनसान छ,’ धनगढीकी पार्वती चौधरीले भनिन्। लिंगे पिङको संस्कृति हराउँदै गइरहेको उनले बताइन्। उनका अनुसार मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु र पिङ हाल्ने काम झण्झटिलो हुदाँ अहिलेका युवा पुस्ताले पिङप्रति रुचि देखाउन छाडेका हुन्।

परम्परागत रुपमा भिरमा पाइने बाबियोबाट बनाइने सीप नहुनु र यसको लागि आवश्यक पर्ने बाबियो काट्न युवाहरुले चासो नदेखाउदा पिङ संस्कृति लोप भएको धनगढीका रविन्द्र गुरुङले बताए। ‘चाडपर्व र रितिरिवाजको अहिलेको पुस्ताहरुलाई कुनै वास्ता नै छैन,’ उनले भने।

पुख्र्यौली परम्परा पछिल्लो पुस्ताले विर्सिंदै गएको धनगढीकी अनिता जोशीलाई पनि अनुभुति भएको छ। उनी भन्छिन्, ‘अहिलेका युवाको ध्यान टिकटक र फेसबुकमा छ।’ सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत पिङ देख्न मुस्किल हुन थालेको छ। विगतमा लिंगे पिङको संस्कृति जोगाउँदै आएको सशसत्र प्रहरीले पनि पिङ हाल्न छोडिसकेको छ।

पछिल्लो समय कोरोनाका कारण पिङ हाल्न छोडेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले बताए। ‘विगतका वर्षहरुमा पिङ हाल्ने गरिन्थ्यो, तर गत वर्षदेखि कोरोनाका कारणले हालेका छैनौँ,’ उनले भने।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस