कैलालीका नारायणदत्त, जसले अलैंचीको बिरुवा बेचेरै कमाए १६ लाख
धनगढीः कैलालीको चुरे गाउँपालिका–४ खैराला, गार्भाका नारायणदत्त योगी शिक्षण पेशा छोडेर फलफूल खेतीमा जमेका छन्।
स्थायी शिक्षकबाट २०७६ सालमा राजीनामा दिएर योगी फलफूल खेतीमा लागेका हुन्। योगीले १५ रोपनी आफ्नै जग्गामा सुन्तला, आँप, अम्बा, अङ्गुर लगायतका फलफूल लगाएका छन्। योगीको बारीमा सात सय बोट सुन्तलाका फलेका छन् भने थप १५ रोपनीमा फलफूल खेती बिस्तार गर्ने योजना छ। फलफूल खेतीमा जमेका योगीले दुई वर्षमा १६ लाखको अलैंचीको बिरुवा बिक्री गरेको बताएका छन्।
स्वैच्छिक अवकाश लिएर फलफूल खेतीमा
पाँच वर्षअघि शिक्षण पेशा त्यागेर फलफूल खेतीमा जमेका योगी अहिले निकै व्यस्त छन्। कलमी बिरुवा लगाएका योगीको बारीमा दुई वर्षदेखि सुन्तला उत्पादन हुन् थालेको छ। २०७६ को मंसिरमा स्थायी शिक्षकबाट राजीनामा दिएर योगी फलफूल खेतीमा लागेका हुन्। १५ रोपनीमा योगीले सात सय बोट सुन्तलाका लगाएका छन्।
यो वर्ष साढे दुई लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका योगीले बारीबाटै ८० रुपैयाँ प्रति किलोग्रामका दरले सुन्तला बिक्री भइरहेको बताए। ‘दुई वर्षदेखि सुन्तला उत्पादन हुन थालेको हो। १५ रोपनीमा सात सय हाराहारीमा बिरुवा रोपेको छु’, उनले भने, ‘यो वर्ष थोकमा ८० रुपैयाँ प्रति किलोग्रामका दरले बारीबाटै सुन्तला बिक्री भइरहेको छ।
३० रोपनीमा खेती विस्तार गर्ने योजना
फलफूल खेतीमा जमेका योगीको थप १५ रोपनी जग्गा लिजमा लिएर ३० रोपनीमा फलफूल खेती विस्तार गर्ने योजना छ। योगीले सुन्तलासहित आँप, अम्बा, अङ्गुर, लिची, नास्पती, मेवा, कटहर, बुद्धचित्त, रुद्राक्ष, लगायतका फलफूल लगाएका छन्। उनले फलफूल खेतीबाट राम्रै आम्दानी भइरहेको बताए।
दाजुको जग्गा लिजमा लिएर फलफूल खेती ३० रोपनीमा बिस्तार गर्न लागेको योगीले बताए। ‘अहिले आफ्नै १५ रोपनीमा फलफूल लगाएको छु। दाजुको १५ रोपनीसमेत लिजमा लिएर खेती बिस्तार गर्ने योजना बनाएको छु’, उनले भने, ‘बारीमा सबै सिजनका फलफूल पाउने बनाउने मेरो लक्ष्य छ।’
दुई वर्षमा अलैंचीको बिरुवाबाट १६ लाख आम्दानी
फलफूल खेतीमा जमेका योगीले अलैंची खेतीसमेत गरेका छन्। अलैंचीको बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्दै आएका छन्। दुई वर्षमा १६ लाख आम्दानी अलैंचीको बिरुवा बिक्री गरेर मात्रै भएको योगीले बताए। ‘मैले अलैंचीको नर्सरी पनि राखेको छु। दुई वर्षमा अलैंचीको बिरुवा बिक्री गरेर १६ लाख आम्दानी भएको छ’, उनले भने, ‘प्रति बोट १० रुपैयाँका दरले अलैंचीको बोट बिक्री हुने गरेको छ।’ माटोसँग खेल्दै दिन बितेको थाहै नहुने गरेको बताउने योगीले फलफूल खेतीमा लागेपछि निकै व्यस्त भएको बताएका छन्। उनले फलफूल बिक्रीबाट राम्रो आम्दानी भइरहेको बताए। माटो र प्रकृतिसँग खेल्दै दिन बितेको पत्तै नहुने योगीको भनाइ छ।