धनगढीमा ‘दसैँ सपिङ’ गर्नेको घुइँचो, महंगी बढेको गुनासो
धनगढीः बडादसैँको किनमेल सुरु भएपछि सुदूरपश्चिमको राजधानी धनगढीमा चहलपहल बढेका छ। दसैँका लागि दैनिक उपभोग्य बस्तुसंगै, लुगा कपडाको किनमेल गर्नेहरुको बजारमा चहलपहल बढेको हो। गत वर्षभन्दा यो वर्ष बजार क्षेत्रमा चहलपहल बढेको देखिन्छ।
हुन त अहिले अन्न भित्र्याउने समय पनि हो। सो काम थाती राखेर किसानहरु पनि बालबालीका तथा परिवारको खुसी किन्न बजार पुग्न थालेका छन्। बालबालीकाहरुलाई खुसी पार्न किनमेलका लागि बजार पसेको धनगढीको बेलाकी हँसा कुँवरले बताइन्। उनी उत्साहीत हुँदै भन्छिन्, ‘गत वर्ष कोरोनाले लकडाउन थियो। खासै केही पनि भएन्। यो साल अलि ठिक छ सबै रमझम गर्छौ।’
दैनिक उपभोग्य सामग्री खरिद गर्नदेखि दसैंका लागि लुगा खरिद गर्ने नागरिकको बजारमा घुँइचो लागेको थियो। स्थानिय रमेश सीजापति पनि गत वर्षभन्दा यो वर्ष चहलपहल बढेको बताउँछन्। तर बजारमा भएको मुल्य बृद्धिले नागरिकहरुमा निराशा पनि छाएको छ। हुनेखाने वर्गभन्दा गरिखाने वर्गमा भने त्यसको प्रत्यक्ष असर परेको छ।
यस वर्षको दसैँमा आफूमा कति पनि खुसीयाली नभएको बताउँछिन धनगढीकी शितल भण्डारी। बाहीर होलसेल भनेर ४ सय ६ सयको कार्ड टाँस्ने तर भित्र जाँदा धेरै महगोँ लगाउने उनी बताउँछिन्। ‘अहँ म त खुसी छैन्, आफुसंग पैसा हुँदैन्। भए भरको पैँसा सबै यतै सकिन्छ। लुगा कपडा किने जस्तो पनि लाग्दैन,’ उनले भनिन्।
महगींले दसैँ मनाउन पनि गाह्रो भएको धनगढीकै अपेक्षा जोशी बताउँछिन्। एउटै बच्चाको लुगा किन्न ७ हजार बढी खर्च लागेको उनले बताइन्। ग्राहकहरुको भिडभाड बढेपछि यस वर्ष भने गत वर्षको तुलनामा राम्रो कारोबार हुने देखिएको छ।
गत वर्ष कोरोनाका कारण ठप्प रहेको व्यवसायमा सुधार देखिएको व्यवसायी सिद्धसिंह भुल बताउँछन्। उनी भन्छन्, ‘गत वर्षको तुलनामा अलि चहलपहल बढेको छ। पसलहरुमा पनि भिडभाड छ। यसवर्ष भने राम्रो कारोवार हुन्छ।’ तर अहिले भारतीय सीमा बजार खुलेका कारण धनगढीको व्यवसायमा असर गरेको समेत बताइएको छ ।
धनगढीवासी बढी जसो किनमेल गर्न सिमा पारि नै केन्द्रित हुँदा यसको प्रत्यक्ष असर धनगढीका व्यापार व्यवसायमा परेको बताउँछन् धनगढीका व्यवसायी मदनकृष्ण भट्ट। उनले भने, ‘यहाँको व्यापार व्यवसाय मात्रै नभएर सिंगो राष्ट्रको अर्थतन्त्र धरासायी बन्छ। त्यहा नियन्त्रण गर्न जरुरी देखिन्छ,’ उनले भने।
गत वर्ष कोरोनाका कारणले बढी जसो बेरोजगार हुँदा तथा आम्दानीको स्रोत नहुँदा पनि कारोबार बढ्न नसकेको व्यवसायी डम्बरदत्त पाण्डेयले बताए। ‘कोरोनाले अर्थतन्त्र खस्किएका बेला सबै ठाउँमा असर परेको छ, नागरिकको आम्दानीको स्रोत गुम्यो,’ उनले भने।