सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गहरुको अवस्था बिजोक
धनगढी: सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गहरु पहिरो तथा वर्षातले भताभुङ्ग भएका छन्। प्रदेशका ७ पहाडी जिल्लाका मुख्य सडक भत्किएपछि सवारी सञ्चालनमा धेरै सास्ती भइरहेको गुनासो गरिएको छ।
भीमदत्त राजमार्गसहित मुख्य राजमार्ग भत्किएको लामो समय हुँदा पनि मर्मत भएका छैनन्। सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नुपरिरहेको सवारी चालक भरत साउँद बताउँछन्। पायक पर्ने स्थानीय तहहरुले खाल्डाखुल्डी पुरिदिए सहज हुने उनले बताए। ‘पहाड जाने सडकको अवस्था दयनिय छ। चालकहरुलाई कसरी गाडी जोगाउने भइरहेको छ’ उनले भने। वर्षातमा आएको पहिरो कतिपय ठाउँमा त पञ्छाउन बाँकि नै रहेका साउँद बताउँछन्।
पहिरोका कारण धेरै ठाउँमा सडकहरु एकतर्फी मात्रै सञ्चालनमा छन्। भिरको बाटो तथा खाल्डाखुल्डी परेका एकतर्फी सडकमा सवारी सञ्चालन गर्दा दुई घण्टामा गन्तव्य पुग्नुपर्नेमा चार घण्टा लाग्ने गरेको अर्का चालक किसन खनालले बताए। उनले भने, ‘सडकहरु पुराना तथा जिर्ण भइसके। मर्मत गर्नुपर्ने भएका छन् तर कसैले वास्ता गर्दैनन्। एकतर्फी मात्रै गाडी गुड्दा आलोपालो मिलाएर हिँड्नुपर्ने अवस्था छ। २ घण्टामा पार हुने बाटोमा साढे ४ घण्टा भन्दा बढी समय लागिरहेको छ।’
सुदूर पहाडका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, डोटी जोड्ने केआइसिंह, बैतडी र दार्चुला जोड्ने दशरथ चन्द राजमार्गसहित साँफे मार्तडी सडकको ठाउँठाउँमा भत्किएको छ।
सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी हरिष भट्टले भने प्रत्येक वर्ष सडकका खाल्डा पुर्दै आएको बताए। हरेक वर्ष सडक डिभिजन कार्यालयले सडक मर्मतका लागि ठेक्का व्यवस्थापन गर्ने गरेको उनले बताए। ‘जिल्ला जोड्ने सडकहरु एक लेनका मात्रै छन्। एक लेनबाट नै सवारी साधन चल्छन्। एउटै लेन साँघुरा सडकमा झन समस्या त मोडमा हुने गरेको छ’ उनले भने।
सूचना अधिकारी भट्टले मोडहरुलाई पनि चौडा बनाउने कार्य गरिरहेको बताएका छन्। ‘असोज र कार्तिकमा सडकमा परेका खाल्डाखुल्डी पुर्न तथा मर्मतका लागि ठेक्का व्यवस्थापन गरेका छौँ। साघुँरा सडकलाई फराकिलो बनाउने काम पनि भइरहेको छ’ उनले भने।
दसैँ र तिहारको समयमा सवारी तथा यात्रीको सँख्या धेरै हुने भएकाले अस्तव्यस्त सडकका कारण झनै सास्ती हुने देखिएको छ।