धनगढीकी ७२ वर्षीया अमृतालाई कुन दैवले देला नागरिकता ?
होटलका भाँडा माझेर छाक टार्नुपर्ने बाध्यता
धनगढी: १४ वर्षीया उमेरमा धनगढीको भन्सार रोडमा रहेको सानी आमाको घर जान भनेर कैलालीको पन्ड्रोनबाट हिँडेकी अमृता श्रेष्ठ बाटो बिर्सदा सानी आमाको घर पुग्न सकिनन्। त्यसपछि धनगढी विमानस्थलमा चिया पसल गर्ने श्रेष्ठ थरकी वृद्धाले अमृतालाई आफू कहाँ बस्न आग्रह गरिन्। अमृतालाई छोरी पालेजस्तै गर्छु भनेकी ती वृद्धाले चार महिनापछि उनको बिहे आफ्नो छोरासँग गरिदिइन्। १४ वर्षकी अमृताको ३२ वर्षीय अमरबहादुर श्रेष्ठसँग घरजम गर्नुपर्ने बाध्यता आइलाग्यो, आजभन्दा ५८ वर्ष अगाडि।
आमाको अनुहारसम्म याद नभएको बताउने अमृताका वास्तविक दुःख त्यही दिनबाट सुरु भए जुनदिन उनी बाटो बिराउन पुग्दा सानी आमाको घर पुग्न सकिनन्। आफूपछि सानो भाइहरु रहेको बताउने अमृताका बुवाले खोज्न त खोजे छन् तर अमृतालाई फेला पार्न सकेनछन्। ‘१६ वर्षको उमेरमा जेठो छोरो जन्मेपछि २ पटक माइती गएको थिए,’ उनले भनिन्, ‘तर बुवाको मृत्युपछि अहिले भाइहरु अन्तै बसाइ सरेको कारण पन्ड्रोन गएको छैन।’ बुवाको नाम खडकबहादुर रामजाली मगर बताउने अमृताले अमरबहादुर श्रेष्ठसँग बिहेभएपछि ३ छोरालाई जन्म दिइन्। ‘गत वर्ष मंसिरमा श्रीमानको मृत्यु भयो’ उनले भनिन्। मरेर गएका अमरबहादुरले अमृतालाई नेपाली नागरिकताको प्रमाणपत्र पनि बनाउन दिएनछन्।
‘मेरा देवरले त पटकपटक नागरिकता बनाउन आग्रह गरेका थिए तर उहाँ(अमरबहादुर) ले मान्नु भएन्। आफूले पनि बनाएनन, मलाई पनि बनाउन दिएनन्।’ उनले भनिन्। तिनै अमरले विमानस्थलमा राम्रै चलेको चिया–खाजा पसलमा पनि उधारो विक्री गरेर व्यापार चौपट पारेपछि अमृताले अर्काको भाँडा माझेर ३ छोरालाई हुर्काउनु परेको सुनाइन्।
विमानस्थल नजिकै राम्रोसँग चलेको पसल रक्सी खाएर सक्काएपछि उनीहरु मनेहरामा बस्न आएको अमृताले बताइन्। अहिले जहाँ अमृताको भत्केको टहरो छ, त्यो एक कट्ठा जग्गा उनले मजदुरी गरेर १२ वर्ष अगाडि ६२ हजार तिरेर किनेको रहिछन्। त्यो पर्ती जग्गामा उनको भत्किएको टहरो छ। तर जेठो छोराले टिनले छाएको घर बनाएका छन्। मजदुरी गर्ने जेठो छोराले कुनै मतलब नगर्ने, २२ वर्षको कान्छो छोरो घरमै नआउने बताउने अमृतासँग उनका माहिलो मात्रै बस्छन्। जसको मानसिक स्थिती ठिक नभएको उनले बताइन्।
अमृता जस्तै उनको माहिलो छोराको पनि नागरिकता बनेको छैन। उनको जेठो छोरा र कान्छो छोराको भने देवरले सनाखत गरेर नागरिकता बनाए पनि वडा कार्यालयले सिफारिस नगर्दा आफ्नो नागरिकता नबनेकोले उनी जीवनमा सबैभन्दा बढी निरास छिन्। ‘आमाको मुखसम्म हेर्न पाइएन, बुवाले नागरिकता बनाइदिने भनेर २ पटक बोलाउँदा पनि श्रीमानले जान दिएनन्,‘उनी भन्छिन्, ‘देवरले बनाइदिनेभन्दा धनगढीको ७ नम्बर वडा कार्यालयले मोहन्याल गाउँपालिकाबाट सिफारिस ल्याउनुपर्ने बताएपछि नागरिकता पाउन सकेन्।’ मोहन्याल गाउँपालिकामा पर्ने पन्ड्रोनको दाइजेगाडा गएर वडाको सिफारिस ल्याउन पनि नसकेको अमृताले आसु झार्दै बताइन्। ‘मेरा माइती अहिले त्यहाँ बस्दैनन्। अनि कसरी जानु’ आँखाभरी आएका आँसु पिलिक्क झार्दै उनले भनिन्।
धनगढीमा ५० वर्षदेखि मजदुरी गर्दै आएकी उनलाई उमेरका कारण पनि काम गर्न मुस्किल हुन लागेको महसुस हुन थालेको छ। तर पनि पेट पाल्नकै लागि धनगढीको एक होटेलमा भाडा माझ्ने काम गर्नु उनको बाध्यता छ। जेठो छोरालाई पटकपटक आग्रह गर्दा पनि नागरिकता बनाउन सहयोग नगरेको अमृताले माइतीबाट पनि नागरिकताका लागि पछिल्ला दिनमा सहयोग नपाएको बताइन। डोटी अदालतमा एकजना भाइ कर्मचारी भएपनि समय नभएको भन्दै भेट्नसम्म कहिल्यै नआएको उनले बताइन्।
जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता महिनाको ४ हजार पाउने कुरा अमृतालाई थाहा छ। तर उनले नागरिकता नभएका कारण भत्ता पाएकी छैनिन्। ‘नागरिकताका लागि चार–चार पटक वडा कार्यालय पुगे। तर उताबाट माइतीको सिफारिस चाहियो भनेर फिर्ता पठाए’ उनले आफ्नो तितो अनुभव सुनाइन्।
अहिले उनको अवस्था यस्तो छ कि काम गर्दा पनि उनका हात काप्छन्। भत्किएको टहरोमा सर्प, विच्छीको डर पनि अमृतालाई हुन्छ। उनी काम गर्ने होटेलमा भुजा खाएकै भरमा घरमा रात कटाउँछिन्। झन बर्सातमा टहरो चुहिँदा अनि हिउँदको शीत लहर चल्दा बृद्ध अमृताको गलेको जीउ सहनै नसक्ने अवस्था छ। भत्केको टहरोमा रहेका २ वटा कोठामध्ये एउटामा मानसिक अवस्था ठीक नभएको छोरो बस्छ। ‘बजारभरी भेट्टाएको फालेका जुत्ता, चप्पल घरमा ल्याएर कोठामा गोदाम बनाउछ उसले। काम गर्न भारत गएको थियो त्यहाँ कुन बैरीले कुटपिट गरेछ, यस्तो हालत बनाएर फर्कियो’ आफ्नो छोरालाई देखाउँदै उनले भनिन्।
सानोमा पीठ्युमा बोकेर मजदुरी गर्दै हुर्काएका तीन छोेरा मध्ये दुईले कुनै मतलव नगर्ने, मतलव गर्ने आफै मानसिक रोगी भएको देख्नु परेको उनको दर्दनाक जीवनको भोगाइ रहेको छ।
'नागरिकता पाएको दिन जीउँदै स्वर्ग पुग्छु'
७२ वसन्त पार गरीसक्दा पनि नेपालमै नेपाली आमाबाको सन्तान भएर जन्मिएकी अमृताले नेपाली भएको प्रमाण पत्र हात पार्न सकेकी छैनन्। सबैभन्दा ठूलो पीर उनलाई यहीँ नागरिकता नपाएको छ। ‘आमा तपाईले नागरिकता पाउनु भो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनी उत्तर दिन्छिन्, ‘के गर्थे र अहिलेसम्म भोगेका सबै दुःख बिर्सिन्थे। नागरिकता पाएको दिन जीउँदै स्वर्ग पुगेको ठाँन्थे। सरकारले दिएको ४ हजार भए मर्ने बेला होटेलका भाडा माझ्नु पर्दैनथ्यो।’
संविधान दिवसको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाका ४ सय ८६ जनालाई नागरिकता दिने निर्णय जिल्ला प्रशासन कार्यालयले गरिसकेको छ। उनीहरुलाई प्रशासनले प्रिन्ट गरेर सजिलै दिन्छ होला। तर ७२ वर्षीया गरिब अमृताले वंशज नेपाली रहेको प्रमाण त्यति सजिलै प्रशासनलाई दिन सक्ने अवस्था छैन। साथमा भएको मानसिक समस्या भोगीरहेको छोरोको पनि नागरिकता छैन। जेठो छोरोले आफूसँग भएको नागरिकता देखाउनै मान्दैन। ‘लोग्ने नै नागरिकता पाउने बाटोको तगारो बने। अब कुन दैवले नागरिकता देला ?’ उनले प्रश्न गरिन्।