भ्रष्टाचार अन्त्य गर्न यसपालि मत परिवर्तन गर्नुपर्छ: चन्द
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले देशमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि यसपालिको चुनावमा मतदाताले मत परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
धनगढी उपमहानगरपालिका-४ मा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो भविष्यका लागि सोँचेर मतदान गर्न आग्रह गरे। देशमा भ्रष्टाचार नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, सुशासन कायम गर्न र देशको उन्नतिको लागि मत परिवर्तन आवश्यक रहेको उनले बताए।
‘यसपालि कुनै उम्मेदवार जिताउन होइन, कुनै पार्टी जिताउन होइन। अहिले आफ्नो मत आफूलाई जिताउनको लागि, देशमा सुशासनको लागि, देशको उन्नतिको लागि, किसानले समयमै बीउ मल र उत्पादन गरेको अन्नको मूल्य पाउनको लागि र हाम्रो भविष्यको लागि हामीले आफैलाई मतदान गरौँ भन्न चाहन्छु’ चन्दले भने।
उनले आफू निर्वाचित भएर गएपछि यो क्षेत्रको आवाज सदनमा बुलन्द गर्ने प्रतिवद्धता जनाए। देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, किसानको समस्या समाधान गर्ने, सुकुम्बासीका समस्या समाधान गर्ने, लालपूर्जा नपाएका मान्छेहरुको समस्या समाधान गर्ने, खानेपानी, ढलनिकास, डुवानजस्ता समस्या समाधान गर्न आफूहरुले प्रयास गरिरहेको उनले बताए।