सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जनपुस्तकालय र सुदूरचिनारी पत्रिकाद्वारा सुदूरपश्चिमका पहाडी भाषाबारे छलफल

२०८२ फाल्गुन ९, ०६:२० खबर संवाददाता

धनगढी: अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा धनगढीस्थित कैलाली जनपुस्तकालय र सुदूरचिनारी डोटेली द्वैमासिक पत्रिकाको संयुक्त आयोजनामा सुदूरपश्चिमका पहाडी भाषिक समुदाय केन्द्रित भाषिक गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा सम्बन्धित समुदायका भाषिक, प्राज्ञिक तथा साहित्यिक व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पहाडी भाषिक समुदायले जिल्लागत रूपमा भाषा नामाकरण गर्दै आएका विषयमा केन्द्रित भई बृहद् छलफल गरिएको थियो।

छलफलका क्रममा भाषा क्षेत्रगत रूपमा फरक हुन सक्ने भए पनि जिल्लागत रूपमा अलग–अलग नामाकरण उपयुक्त नहुने निष्कर्ष निकालिएको छ। विश्व अभ्यासअनुसार पनि भाषा जिल्लाका आधारमा विभाजन गर्ने प्रचलन नदेखिएकाले यस विषयमा राष्ट्रिय भाषा आयोग र तथ्याङ्क विभागलगायत सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको छ।

गोष्ठीले पहाडी भाषिक समुदायले बोल्ने भाषामा लवज र केही शब्दमा भिन्नता भए पनि आपसी बोधगम्यता कायम रहेको उल्लेख गर्दै सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी एउटै भाषा नामाकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, त्यससँग सम्बन्धित भाषिकाको पहिचान गर्दै संरक्षण र प्रवर्द्धनका लागि संघीय तथा प्रदेश सरकारले शीघ्र ठोस कदम चाल्नुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

कैलाली जनपुस्तकालयका उपाध्यक्ष टंकप्रसाद जोशीको अध्यक्षतामा आयोजित गोष्ठीमा सुदूरचिनारी पत्रिकाका प्रकाशक एन.के. जोशीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य स्पष्ट पारेका थिए। कार्यक्रमको सहजीकरण कैलाली जनपुस्तकालयका सचिव सुभाष संकल्प भण्डारीले गरेका थिए। 

कमेन्ट लोड गर्नुस