सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी समाजको १७ औं संस्करणको रक्तदान महोत्सवमा ६१ युनिट रगत संकलन

२०८२ फाल्गुन ९, ०५:४९ खबर संवाददाता

धनगढी : बैतडी समाज कैलालीको आयोजनामा भएको १७ औं संस्करणको रक्तदान महोत्सवमा ६१ युनिट रगत संकलन भएको छ।

रक्तदान महोत्सवमा निर्वाचन सुरक्षामा सक्रिय रहेको निर्वाचन प्रहरी टोली जीवन रक्षाको अभियानमा पनि अग्रसर देखिएको छ। बैतडी समाज धनगढीको आयोजनामा सम्पन्न १७ औँ बृहत् रक्तदान कार्यक्रममा निर्वाचन प्रहरीसमेत सहभागी हुँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन ।

यस्तै, रक्तदान कार्यक्रममा छोरीलाई हौसला दिन आमा स्वयं रक्तदान गर्न पुगेकी थिइन्। आमाछोरीले संगै रक्तदान गर्दै ‘रगतले जीवन बचाउँछ’ भन्ने सन्देश प्रवाह गरेका थिए। निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीले समेत रक्तदान गर्दै ‘सुरक्षा मात्रै होइन, जीवन रक्षामा पनि प्रतिबद्ध’ रहेको देखाएका छन्।

कार्यक्रममा कैलाली–५ का नेकपा उम्मेदवार प्रेम बहादुर आलेले मतदातासँग मत मात्रै माग्ने होइन, उनीहरूको मनमुटुमा बस्ने प्रयासस्वरूप सामाजिक कार्यमा जोड दिएको बताए। उनले रक्तदान जस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे।

आयोजक बैतडी समाजका अनुसार १७औँ संस्करणसम्म आइपुग्दा कार्यक्रमबाट उल्लेख्य मात्रामा रगत संकलन हुँदै आएको छ। यसपटक पनि ६१ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजन बिर बहादुर महराले बताए ।

सामाजिक उत्तरदायित्वमा सधैँ अग्रसर रहँदै आएको बैतडी समाज धनगढीले आगामी दिनमा पनि यस्ता मानवहितका कार्यक्रमलाई निरन्तरता दिने समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।

कमेन्ट लोड गर्नुस