सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्महत्या प्रयासको अनौठो कारणः ‘प्रेमीले सरी भनेन अनि आत्महत्या गर्न खोजे’

प्रहरी नायव महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदी
प्रहरी नायव महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदी
२०७८ भदौ ३१, १२:४३ खबर संवाददाता

धनगढी : पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भइरहेको छ। मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशापनका कारण आत्महत्याका घटना हुने गरेको प्रहरीले बताउने गरेको छ। 

तर कतिपय अवस्थामा देहत्याग गर्नुका अनौठा कारण पनि हुनसक्ने देखिएका छन्। यस्तै एउटा घटना नेपालमै भएको छ। जहाँ एक युवतीले आत्महत्या प्रयास गरिन्, तर उनका घरबेटीले उक्त प्रयास सफल हुन दिएनन्। उनले ती युवतीलाई समयमै आएर बचाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीले एक कार्यक्रममा बताएका छन्।

त्यसपछि घरपरिवारले युवतीलाई सम्झाउन खोज्दा नमानेपछि प्रहरीकहाँ लगेका थिए। त्यहाँ सोधपुछ गर्दा उनले आफ्नो प्रेमीले माफी नमागेका कारण आत्महत्या गर्न खोजेको बताएकी थिइन्। ‘‘हामीले किन एउटा २० वर्षीया युवतीले आत्महत्या प्रयास गरिन् भनेर सोध्दा उनको जवाफ थियो, ‘मेरो ब्वाइफ्रेनले मेरो जन्मदिन बिर्सियो। सरी भन भन्दा भनेन, अब म बाँचेर के गरौं भनेर प्रयास गरे’ अब हेरौं कस्तो अचम्मको कारण।’’ डीआइजी सुवेदीले भने। 

उनका अनुसार ती युवतीले प्रविणता तह पास गरेको र मोडलिङ्गको कोर्ष गरेकी थिइन्। ‘मानिसले यस्ता सानातिना कारणले गर्दा पनि आत्महत्या प्रयास गर्छन्। त्यसैले उनीहरुलाई परिवार तथा चिकित्सकले परामर्श दिन आवश्यक छ’ डीआइजी उत्तमराज सुवेदीले भने।

किन गर्छ मानिसले देहत्याग ? 
आत्महत्या बढ्नुको कारण व्यक्ति मानसिक रुपले  विक्षिप्त हुनु रहेको प्रहरीको बुझाई रहेको छ।आत्महत्या गर्नुको पछाडि मानसिक समस्या रहेको धनगढीका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाले बताए। ‘विभिन्न अध्ययनले देखाए अनुसार ६० देखि ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग हुन्छ’ उनले भने, ‘पुरै त नियन्त्रण गर्न निकै चुनौतिपूर्ण छ। तर मानसिक स्वास्थ्यको ख्याल राख्यौँ भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।’

चिकित्सकहरुले मानसिक समस्याको समयमै उपचार गर्न सकिए आत्महत्याका घटनामा कमी आउने बताएका छन्। सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मानसिक परामर्श र उपचार दिनुपर्ने बताइएको छ।

मानसिक विचलन आएमा परिवारका सदस्यले मानसिक उपचार तथा परामर्शका लागि शीघ्र मनोचिकित्सक कहाँ लैजान सुझाव दिइएको छ। यस्तै कारण खोजी गर्दै नियन्त्रणका प्रयास पनि नहुँदा आत्महत्या रोक्न थप मुस्किल हुन थालेको छ।


 

कमेन्ट लोड गर्नुस