च्याँउ खेतीमा कमलको कमाल
पौरखी हातहरु :
सामान्यतया हाम्रो समाजमा श्रीमानले कमाउने र श्रीमतीले बाल–बालिकालाई स्याहार गर्ने हुन्छ। नेपालमा रोजगारीको अवसर नभएको भन्दै धेरै युवा त विदेशिरहेका छन्। विदेशबाट श्रीमानले पठाएको पैसाबाट छोरा–छारीको शिक्षा–दिक्षामा खर्च गर्ने गरिएको हुन्छ। तर धनगढी उप–महानरपालिका वडा नम्बर १२ जुगेडा–बी गाँउका किसान कमलबहादुर र गौरी घर्तीको पौरख फरक छ। ११ बर्ष केरा खेती गरेका उनीहरुले २०६५ सालदेखि च्याँउ खेती सुरु गर्नु भएको छ। २०७१ सालमा ॐ केदार च्याँउ तथा तरकारी फर्म दर्ता गरी अहिले ७० टहरा च्याँउका निर्माण भैरहेका छन् भने च्याँउ प्रशोधन केन्द्र समेत सञ्चालन गरिएको छ। यो बर्ष ॐ केदार च्याँउ तथा तरकारी फर्मले ६० लाख बढी च्याँउमा लगानी गर्नेछ। बार्षिक एक करोड आम्दानीको कमलको योजना रहेको छ।
कैलालीको चुरे क्षेत्रमा रहेको सुँगरखालमा जन्मिनु भएका कमल घर्तीमगर २०४२ सालमा धनगढी आए। डोटीको घाँगलमा बसाई सरी आएको कमलको परिवार सुगरखालको कर्णाली किरानमा बसोबास गर्दै आएको थियो। कर्णाली नदीमा आएको बाढीले घर खेत बगाएपछि कमलको परिवार २०४२ सालबाट धनगढीको जुगेडा–बी गाँउमा बसोबास गर्दै आएको छ। कृषिमा भविष्य खोजिरहनु भएका कमलले सुरुमा तरकारी खेती गर्दै आउनु भएको थियो। स्थापित किसान हुने लक्ष्यका साथ उहाँले २०५८ सालतिर केरा खेतीको सुरुवात गर्नुभयो। ११ बर्ष केरा खेती गर्दा गाँउमा रहेको एक मात्र डिप बोरिङले सबै किसानले सिँचाई गर्नु पर्ने बाध्यता थियो। दिउँसोको समयमा अन्य किसानले पनि खेतमा पानी लगाउने भएका कमल र गौरी रातीको समयमा केरा सिँचाई गर्ने निस्कनु हुन्थ्यो।
केरा खेती गर्न समस्या आएपछि घर्तीको दम्पतीले च्याउ खेती सुरु गर्नुभयो २०६५ सालतिर। च्या खेती गर्न खोलिएको ॐ केदार च्याँउ तथा तरकारी फर्मले बार्षिक ५० टनसम्म च्याउ उत्पादन गर्ने लक्ष्य राखेको छ। डेढ विगाहमा च्याँउ खेती गरिरहेका उनीहरुसँग आफ्नो जग्गा १० कट्टा र बाँकी भाडामा लिईएको छ। च्याउ खेतीमा अहिले १२ महिना नै चार जना नेपाली र १५ जना भारतीयले रोजगारी पाएका छन्। सुरुमा एक सय ५० रुपैयाको च्याँउ घरमा लगाएर खानका लागि उत्पादन गर्नु भएका कमलले अहिले च्याँउ प्रसोधन केन्द्र समेत सञ्चालनमा ल्याउनु भएको छ। बजारमा खपत नभएको समयमा केन्द्रमा प्रति घण्टा पाँच क्वीन्टल च्याँउ राख्न सकिने भएको छ। अब थप जनशक्ती आवश्यक छ। भारतबाट प्राविधिक जनशक्ती ल्याएर कमलबहादुर घर्तीमगरले प्रशोधन केन्द्रको सञ्चालन गर्नु भएको छ । नेपाली युवाहरुलाई समेत प्रविधि सिकाउने उहाँको लक्ष्य छ।
जिल्लामा च्याउ खेतीबाट कृषकको जीवनस्तर पनि उकासिएको छ। कन्ये, गोब्रे लगायत च्याँउको उत्पादनको सम्भावना छ। सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहले च्याँउका बारेमा प्रविधिको ब्यवस्था गर्न आवश्यक छ। च्याँउ खेतीबाट नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण ॐ केदार च्याँउ तथा तरकारी फर्म सञ्चालन गरिरहेका धर्ती मगर दम्पतिले देखाएका छन्।