‘११ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १५ सय विद्यार्थी पुगे’
धनगढी: ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीका प्रमुख धर्मदेव भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईको बाल्यकाल र व्यक्तित्वको विषयमा जानकारी गराई दिनुस न ?
मेरो जन्म डडेल्धुराको अजयमेरु गाविसमा २०२८ सालमा भएको थियो। हामी ५ जना दाजुभाई छौँ। औपचारिक शैक्षिक यात्राको सुरुवात गाउँकै नवदुर्गा प्राविबाट भएको हो। पछि तराई सर्ने भएपछि २ कक्षादेखि ८ कक्षासम्म धनगढी मावि अर्थात त्यतिबेलाका भाषा पाठशालामा पढे। पञ्चोदयबाट २०४४ सालमा एसएलसी पास गरे। र, आइकम र बिकम भने कैलाली बहुमुखी क्याम्पसबाट गरेको थिए। त्रिभुवन विश्वविद्याल किर्तीपुरबाट पछि अर्थशास्त्रमा एमए र समाजिक अध्यनमा बिएड समेत गरेको थिए। शैक्षिक पेशामा २०५० सालदेखि अहिलेसम्म अनवरत छु। एउटा सामान्य परिवारमा बसेर अग्रजहरुले दिएको निर्देशन पालन गर्ने व्यक्तिको रुपमा सामन्य व्यक्तित्व हो। यही मेरो परिचय हो।
तपाईं पेशामा आवद्ध भएपछि परिवर्तनका लागि गरिएका प्रयासलाई लिएर कतिको सन्तुष्ट हुनुहुन्छ ? पहिले र अहिलेको समयको शिक्षालाई कसरी हेर्नुभएको छ ?
हिजोको शिक्षा गुरुकुल प्रणालीमा थियो। पछिल्लो समय गुरुकुल प्रणालीमा शिक्षा न रहेपनि अरु सकारात्मक परिवर्तन नभएका होइनन्। तर जतिबेला हामी पढ्थ्यौँ त्यो समयमा गुरु र चेलाबीचको सम्बन्ध एकदमै राम्रो थियो। गुरुले दिनुपर्ने संस्कार सभ्यता चेलाले दिनुपर्ने सम्मान यो सबै कुरा उच्च हुन्थ्यो। पछिल्लो समयमा शिक्षाले काँचुली त फेर्याे केही भौतिक परिवर्तन त गर्याे। प्राविधिक शिक्षाको विकास भयो। परिवर्तन न भएको होइन। आज सुदूरपश्चिमलाई हेर्दा भयो, ठुलै फड्को मारेको छ।
सन्तुष्टको सवालमा त सन्तुष्ट हुनको लागि गीतामा एउटा भनाई छ ‘कर्म गर फलको आशा न गर’। हामीले राम्रो गर्ने प्रयास गर्ने हो त्यो राम्रो भइ नै हाल्छ। म आफ्नो जिवनमा पनि यो कुरालाई नै लागू गर्ने गर्छु।
ऐश्वर्य बहुमुखी क्याम्पसमा तपाईंको कार्यकाल कतिको सफल कतिको असफल ?
यो कुरा समाजले मुल्यांकन गर्ने कुरा हो तर तपाईंले प्रश्न गरेपछि यसको जबाफ दिनु मेरो कर्तव्य हो। करिब १४ वर्ष पूरा हुँदैछ। यस दौरानमा कहिले ओराली त कहिले उकाली भए होलान् तर समाजको हरेक तप्काले जुन तवर साथ दियो, विद्यार्थीदेखि संचालक समितीहरुले जुन तवरले विश्वास गरे त्यसबाट जुन सपना आफुले यो क्षेत्रमा सुरुवातदेखि देखेको थिए, जुन योजना थियो त्यो सफल भएको देख्दा मन खुशीले गदगद हुन्छ।
गर्व महसुस हुन्छ। क्याम्पसको कुरा गर्दा ११ जना विद्यार्थी हुने बेलामा म निमित्त क्याम्पस प्रमुख थिए। बिएससीको सुरुवाती पढाई थियो। सानो कोठा भाडामा लिएर संचालन गर्दै गर्दा क्याम्पसको आफ्नै भौतिक संरचना भए हुने भन्ने मनमा हुन्थ्यो। सुदूरपश्चिमको शैक्षिक धरोहर मानिने स्कुलद्वारा संचालित क्याम्पस नमूना सामुदायिक क्याम्पस हुन पाए हुन्थ्यो भन्ने लागेको थियो। त्यतिबेला ‘क्यूएए’ प्राप्त कलेज एकदम कम थिए। हामीले पनि त्यो स्थिति निर्माण गर्नसके हुन्थ्यो जस्तो लाग्थ्यो। व्यवस्थापनको दुरदर्शीता र सबैको सहयोगले सफलता मिल्यो पनि। ११ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १५ सय विद्यार्थी पुगेका छन्।
तपाईंको अबको प्लान के छ कलेजको लागि ?
केही कार्यक्रम थप्ने र गुणस्तर सुधारको लागि मेरो पहल रहन्छ।
पूरा अन्तरवार्ता दिनेश खबरकाे युट्युब च्यानलबाट हेर्न सकिने छ।)