सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब धनगढीमा प्रहरीले दादागिरी देखायो...

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ६, ०४:०७ नारायण अवस्थी

धनगढी : शनिबार मेरो साप्ताहिक बिदा, बिहानदेखि कोठामै थिए। साँझ ५ बजे साथीलाई भेट्न बजार निस्के। धनगढीको क्याम्पस चोकबाट ट्राफिक चौराहासम्मको गन्तव्य बनाएर। बजारमा ठाउँठाउँमा प्रहरी चेकिङ रहेछ। धनगढी मुख्य सडकको भेटेरिनरी अगाडि ट्राफिक प्रहरीले मलाई रोक्यो।

ट्राफिक प्रहरीले कागजात माग्यो। मोटरसाइकलको ब्लुबुक रेनकोटकै झोलामा घरमै बिर्सेको रहेछु। ‘बर्सातको समय सुरु भएदेखि नै रेनकोट बोक्थे। तर आज घाम लागेको र केही समयका लागि मात्रै निस्केको हुँदा रेनकोट बोकेन। ब्लुबु्क रेनकोटकै झोलामा छुट्यो। लाइसेन्स भने छ,’ मैले ट्राफिक प्रहरीलाई व्यहोरा बताए। 

त्यहाँ रहेका प्रहरीले मलाई ब्लुबुक ल्याउन या जरिबाना काट्न भने। मैले ब्लुबुक नै लिएर आउँछु जरिबाना काट्नु परे पनि पछि काटौला भने। त्यहाँ रहेका ट्राफिक प्रहरीले हुन्छ भनेर मेरो लाइसेन्स आफूसँग राखेर मलाई ब्लुबुक लिएर आउन घर जान दिए।
घर जाँदा केही पर सेती अस्पताल अगाडि पनि प्रहरी चेकिङ रहेछ। मलाई त्यहाँ पनि लाइसेन्स र ब्लुबुक देखाउन भनियो। मैलै अगाडि भएको व्यहोरा दोहर्याए। त्यहाँ कार्यरत प्रहरीले पनि हुन्छ जानुस् भनेर जान दिए। फेरि जिल्ला प्रहरी कार्यालय अगाडि अर्को चेकिङ थियो। त्यहाँ पनि मलाई आफ्नो कुरा राख्दा घर जान दिइयो। 

तर क्याम्पस चोकमा त्यो व्यवहार भएन्। त्यहाँ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा दर्जन बढी प्रहरी चेकिङमा खटिएका थिए। जनपदतर्फका प्रहरी सहायक निरीक्षक (महिला) ले मलाई रोकिन्। उनले लाइसेन्स र ब्लुबुक देखाउन आदेश दिइन्। मैले लाइसेन्स भेटेरिनरी अगाडि ट्राफिक प्रहरीले लिएको र घरमा छुटेको ब्लुबुक लिन जान लागेको बताए। तर ती महिला प्रहरीले मलाई मोटरसाइकल रोक्न लगाएर जरिबाना काट्न भनिन्।

मैले जरिबाना काट्नु परे जहाँ मेरो लाइसेन्स लिइएको छ त्यहाँ नै काट्ने अडान लिए। घर गएर ब्लुबुक लिएर आउन दिनुपर्यो भन्ने माग राखे। तर मेरो अनुरोधलाई सुन्दै नसुुनेर प्रहरी निरीक्षक गुरुले अपशब्द प्रयोग गर्दै मलाई पक्राउ गर्न आदेश दिए। त्यसपछि त्यहाँ रहेका ५ जना प्रहरीले मेरो कठालो समातेर प्रहरी भ्यानमा कोचे। प्रहरी भ्यानमा राखेर एकजना प्रहरीले गाली गर्दै मेरो ढाडमा मुक्का बर्साए। प्रहरी भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालय पुगाइयो। यो घटना हुँदा चोकमा प्रहरीको चेकिङले मेला जस्तै भिड लागेको थियो। 

सामाजिक दूरी कायम गनुपर्ने पनि भन्ने, तपाईको मास्क खै ? भनेर अभियान पनि चलाउने तर एक नागरिकले लाचार भएर आफ्नो समस्या राख्दा त्यो सुन्दै नसुन्ने कस्तो प्रहरी ? मनमा जिज्ञासा आइरहेको थियो तर त्यहाँ सोध्ने माहोल नै भएन्। जिल्ला प्रहरी कार्यालयमा मलाई पुगाइएपछि त्यहाँ रहेको प्रहरीले मलाई केरकार सुरु ग¥यो। मैले आफूसँग प्रहरीले गरेको अभद्र व्यवहारबारे बताए। के गर्नुहुन्छ ? भन्दा मैले आफ्नो पेशाबारे जानकारी दिए। मैले संचार गृहका सम्पादक र सहकर्मी साथीलाई खबर गर्छु भन्दा मलाई फोन गर्न दिइएन्। त्यसपछि मैले तुरुन्तै कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई घटनाबारे बताए। उनले नै सहजीकरण गरेर मलाई प्रहरी कार्यालयबाट आधा घण्टापछि घर जाने अनुमति दिइयो। 

‘सत्य सेवा सुरक्षणम्’लाई मुल मन्त्र ठान्ने र ‘प्रहरी मेरो साथी’ भनेर अभियान चलाउने नेपाल प्रहरीले आफू नै शासक भएको झल्को दिने व्यवहार प्रदर्शन गर्न छोडेको छैन। नागरिकको सेवा गर्ने उद्देश्यले राज्यले विभिन्न संगठनको परिकल्पना गरेर निर्माण गरेको हुन्छ। तर त्यही राष्ट्र सेवक संगठनले नागरिकमाथि अत्याचार गर्न पाउँछ ? 

प्रहरीले भने विभिन्न बाहनामा पहुँच नभएका नागरिमाथि अत्याचार गर्न छोडेको छैन। २०७३ सालमा लाइसेन्सको परीक्षा पास गरेर मोटरसाइकल चलाउन पाउने अधिकार पाइसकेको थिए। सरकारलाई लाइसेन्स नविकरण, गाडी खरिद, दर्ता र नविकरण गर्दा मैले पनि कर तिरेको छु। गाडीमा हालिने इन्धन र मर्मत गर्दा लाग्ने उपकारणको पनि हामी कर तिछौँ। कर तिर्नु हाम्रो कर्तव्य पनि हो। तर एक किलोमिटर बाटोमा ४ ठाउँमा चेकिङ हुने र चेकिङको क्रममा उल्टै प्रहरीले दुव्र्यवहार गर्दा प्रहरीले असुली धन्दा चलाइरहेको त छैन ? भन्ने भान हुन थालेको छ। 

प्रहरीले मोटरसाइकल चढ्नेलाई अपराधी जस्तै व्यवहार गर्दै आएको छ। चेकजाँचको क्रममा प्रहरीले प्रयोग गर्ने भाषा त यहाँ उल्लेख गर्न नसकिने छ। चेकजाँचको क्रममा पत्रकार हुँ भन्दै मैले परिचय दिएको भए पक्कै पनि प्रहरीले मलाई गाली र हातपात गर्दै भ्यानमा कोचेर प्रहरी कार्यालयमा थुन्नको लागि लग्ग्दैन थियो होला। तर मैले त्यहाँ आफ्नो परिचय लुकाउँदा सामान्य नागरिकले पाइरहेको सास्ती मैले पनि भोगे। 

ट्राफिक प्रहरीले मात्रै लाइसेन्स जाँच गर्ने अधिकार राख्छ। जरुरी कामले हतारमा घरबाट निस्किदा कहिलेकाँही कागजात छुट्छ पनि। कागजात नबोकेर सवारी चलाउँदा कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीसंग छ। त्यो अनुसार मलाई पनि कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीसंग थियो। तर सवारी साधनका कागजात चेकजाँच गर्ने अधिकार नै नभएको जनपद प्रहरीलाई गालीगलौज गर्दै मुक्का बर्साउने अधिकार कसले दियो ? 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस