मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने
कञ्चनपुरः मणिका धाम (मुडका) मा लाग्ने परम्परागत मेला (जाँत) को तयारी पूरा भएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा यही फागुन १३ र १४ गते मेला आयोजना हुँदैछ।
वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका काम सम्पन्न भएका छन्। मन्दिरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सफा गर्ने र आवश्यक संरचना मिलाउने कार्य सकिएको समितिले जनाएको छ।
दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ। समितिका अध्यक्ष पुरन हमालका अनुसार मन्दिर परिसर र आसपास क्षेत्र दर्शनार्थीका लागि छुट्याइएको छ भने मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ। सवारी आवतजावतका लागि सडक मर्मत कार्य अघि बढाइएको र खानेपानीको उचित प्रबन्ध मिलाइएको जानकारी दिइएको छ। शान्ति सुरक्षालाई प्राथमिकता दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको र मेला अवधिभर सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ।
समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई दर्शनमा प्राथमिकता दिने निर्णय गरिएको छ।
हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा छ। मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण गन्तव्य मानिने मुडकामा बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास छ, जसका कारण नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्छन्।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र नजिकै तलाउ रहेको छ। मन्दिर परिसरनजिकै करिब दुई करोड रुपैयाँभन्दा बढी लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ भने पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ।
पूर्व–पश्चिम राजमार्गबाट करिब ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि पहाडी भेगबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको स्थानीय बासिन्दाले बताएका छन्।