धनगढीको ‘चौफेरी’ ताल वडाले गर्यो संरक्षण, खेतमा परिणत भएको २० वर्षपछि माछा पालन
धनगढी: धनगढीका अधिकांश ताल अतिक्रमणको चपेटामा परेका बेला वडा नम्बर ९ मा भने ताललाई संरक्षण गरिएको छ।
धनगढी उपमहानगरपालिकाको दक्षिणतर्फ सीमावर्ती मोहना नदीसँग जोडिएको वडा नम्बर ९ को बङ्ग्रा गाउँमा रहेको ३ विघा १८ कट्ठामा फैलिएको चौफेरी ताल संरक्षण गर्न करिब ३६ लाख खर्च भएको छ। २० वर्षदेखि स्थानीयले खेत बनाएर उपभोग गरिरहेको सार्वजनिक ताल २०६५ को चैतमा खाली गरेर संरक्षण गरिएको वडा अध्यक्ष प्रेमसिंह भण्डारीले बताए।
‘२०७४ मा निर्वाचित हुने बित्तिकै मैले सार्वजनिक तालको जग्गा खोजी सुरु गरे। चौफेरी ताललाई चौफेरी पोखरी भनिन्थ्यो तर स्थानीय चार पाँच परिवारले खेत बनाएर २० वर्षदेखि भोगचलन गरेका थिए। मैले वडा कार्यालयबाट पत्र लेखेर खाली गर्न भने। त्यसपछि अमिन बोलाएर तालको जग्गा छ्ट्याउने काम भयो’ अध्यक्ष भण्डारीले भने, ‘स्थानीय सबै गाउँलेको सहयोगमा जग्गा खाली गरेर ३६ लाखको लागतमा ५ वटा ताल निर्माण गरेर ठेक्कामा लगाएका छौँ।’
खेतमा परिणत गरिएको ताल खाली गराउन सजिलो नभएपनि सबैको सहयोगले सफल भएको अध्यक्ष भण्डारीले बताए। खेतमा परिणत गरिएको ताल पुनः निर्माण गरेर हाल टेण्डर मार्फत ५ वर्षका लागि माछा पालन गर्न ठेक्कामा दिइएको छ।
चौफेरी तालमा माछा पालन गर्न हिमाली एग्रो फार्म प्रालिले ५ वर्षका लागि ठेक्का पाएको छ। १८ लाखमा ठेक्का पाएको फर्मका सञ्चालक तथा संविधान सभाका सदस्य समेत रहेका लालबहादुर रावलले ताल संरक्षणबाट उपमहानगरपालिकाले आगामी दिनमा थप आम्दानी गर्ने बताए।
‘तालको संरक्षण गरेर धेरै राम्रो भएको छ। उपमहानगरपालिकाले तालमा थप लगानी गर्न सक्यो भने पर्यटनबाट समेत आम्दानी गर्न सक्छ’ उनले भने, ण्ज्ञघघपर्यावरणका लागि पनि ताल संरक्षण गर्नु राम्रो कुरा हो।’
वडा नम्बर ९ कै गौरीपुरमा करिब ७ विघामा फैलिएको अर्धचन्द्राकार स्वरुपमा रहेको चन्द्रमुखी ताल छ। त्यो तालमा भने उपमहानगरपालिकाले थप व्यवस्थित बनाउन बजेट खर्च गर्न सकेको छैन। स्थानीयले समेत तालमा आफ्नो जग्गा पर्ने भन्दै विवाद गर्ने गरेको बताइएको छ। तर वडा अध्यक्ष प्रेमसिंह भण्डारीले भने त्यो ताल संरक्षण र व्यवस्थित बनाउन आवश्यक काम गरिने बताए।
वडा नम्बर ९ का स्थानीयले ठूलो क्षेत्रमा फैलिएका दुबै तालमा धनगढी उपमहानगरपालिकाले पर्याप्त लगानी गर्न नसक्दा तालहरुद ओझेलमा परेको बताएका छन्।
धनगढी उपमहानगरपालिकमा वडा नम्बर १ देखि १९ सम्म सय हाराहारीमा तालहरु रहेका छन्। ती मध्ये अधिकांश ताल अतिक्रमणको चपेटामा परेका छन्।