बैतडीमा निर्वाचन लक्षित गर्दै मदिरा बिक्री–वितरणमा कडाइ
दशरथचन्दः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७स्०० बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। व्यवसायीहरूसँग छलफल गरेर मदिराजन्य पदार्थको बिक्री, वितरण र उपभोगलाई व्यवस्थित बनाउन कडाइ गर्ने निर्णय गरिएको उनले बताए।
मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिने तथा फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी र ओसारपसार नगर्ने निर्णय गरिएको पनि थारूले बताए। निर्णय उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।