सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित ढङ्गले मनाउन प्रशासनको निर्देशन

२०८२ फाल्गुन १०, ११:४७ खबर संवाददाता

कञ्चनपुरः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्व मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह गरेको छ।

शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले छ बुँदे निर्देशन जारी गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवाला निकायलाई संयमता अपनाएर सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरिएको छ।

जारी सूचनामा आचारसंहिता–२०८२ को पूर्ण पालना गर्न र उल्लङ्घनका गतिविधि देखिए सम्बन्धित निकायमा जानकारी गराउन भनिएको छ। होलीका नाममा भीडभाड हुने कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने, सार्वजनिक स्थानमा होहल्ला तथा चर्को आवाजमा डिजे बजाउन नपाइने र छिमेकीलाई असर पर्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।

कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। साथै मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, जबरजस्ती वा अमर्यादित व्यवहार गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध नगर्न पनि विशेष आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन र पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस