सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हिरासतमा थुनुवा झुन्डिएर मृत फेला

२०७८ साउन १५, १२:४५ खबर संवाददाता

धनगढीः धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका  छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो।

रविदासले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

भाइसँगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, आर्थिक अवस्था कमजोर भएको हुँदा रविदासले धरौटी बुझाउन नसक्ने भएपछि अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो। कारागार पठाउनको लागि हिरासतमा राखिएका रविदासले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यता, परिवारजनले हिरासत आत्महत्या गर्न कतिको सम्भव भएको बताउँदै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। हिरासतमा आत्महत्याबारे घटनाको जानकारी लिन तथा अनुगमन गर्न मानवअधिकारकर्मीहरूको टोली बिहानै पुगेर घटनास्थलको बिहानै अवलोकन गरेका छन्।

कमेन्ट लोड गर्नुस