सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना

२०७८ साउन १५, ०५:५९ रासस

गलेश्वरः म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ। 

दुई वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी सुरु भएपछि एकाएक चर्चामा आएको हो। कोरोना प्रकोप सुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढाटाढा जान सक्ने वातावरण नहुँदा नजिकका सम्भावित स्थलको खोजी हुने क्रममा कोप्रे झरनाको पहिचान भएको हो।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएका बेनी नगरपालिका– २ बगरफाँटको दुधेखोलानजिक रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ। यो झरना विशेषगरी युवायुवतीको आकर्षक स्थलका रुपमा विकसित हुँदै गएको छ। कोरोना सङ्क्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाबाट तनावग्रस्त भएका युवायुवतीलाई तनावमुक्त गराउने स्थानको रुपमा यो झरना उत्कृष्ट बन्दै गएको छ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो। बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्ने गर्छन्। यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन्। लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन्। 

उनका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी, व्यापारीलगायत व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन्। विशेषगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेको र यहाँ आएर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन्। यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको सङ्ख्या ह्वातै बढेको छ। 

बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताइन्। “झरनाको पानीले पानी पानी बनायो, खुब मज्जा आयो”, उनले भनिन्। रोका मात्रै होइन, दैनिक एक सय भन्दा बढी युवायुवती यहाँ आएर फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन्। कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ। यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन्। 

भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई लोभ्याइ रहन्छ। पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको अनुभव छ। कोपे्र झरनामा कतिपय युवायुवती टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन्। यस झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए।

उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस