६ लेन सडकमा सवारी पार्किङ, धनगढी चौराहामा दिनभरी जाम
धनगढीः कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक अस्तव्यस्त देखिन थालेको छ। निर्माणाधिन उक्त सडक सवारी साधनको पार्किङले अस्तव्यस्त देखिन थालेको हो।
मोहनापुल–अत्तरिया ६ लेन सडकको दुवैतिर गरिएको पार्किङले अन्य सवारी साधन सञ्चालनमा समेत समस्या भइरहेको छ। धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्म सानादेखि ठुला सवारी साधनहरु पार्किङ गरेको देखिन्छ। जसकारण दुर्घटनाको जोखिम बढेको छ भने, सर्वसाधारणले उक्त सडकमा आवतजावत गर्न सास्ती भोग्नु परिरहेको छ।
शहिद गेटदेखि डिके आयल पेट्रोल पम्पसम्मको डबल लाईनमा गरिएको पार्किङले त झन जोखिम निम्त्याएको छ। ६ लेन सडकको डबल लाईनमा ट्याकंर पार्किङ गरिएको हुन्छ। जसकाकारण सडक साघुँरिएको छ। सडक नै साघुँरो भएपछि त्यहाँ जाम लाग्ने गरेको छ।
ट्याकंर पार्किङले पुरै बाटो ब्लक गरेका कारण सवारी साधनलाई एकदमै समस्या भइरहेको स्थानीय भानु जोशीले बताए। ‘नो पार्किङको ठाउँमा मोटरसाइल पार्किङ गरेर राखिदिने। चौराहामा भएको बाक्लो सवारी जामले त झन समस्या छ’ उनले भने। रातिको समयमा लाईट नहुँदा दुर्घटनाको जोखिम समेत बढेको जोशीले बताए।
सिंगल पार्किङ हुँदै आएको ६ लेन सडकमा पछिल्लो समय डबल लाईनमा पार्किङ भइरहेको छ। जसले गर्दा ट्राफिक चौराहादेखि बोराडाँडीसम्म आवत–जावतमा समस्या भइरहेको छ।
ट्राफिक चौराहमा हुने सवारीको भिडभाडलाई भने व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। तर ६ लेनमा हुने गरेको ट्याकंर पार्किङका लागि पटकपटक नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकासँग ताकेता गर्दापनि वैकल्पिक पार्किङको व्यवस्थापन गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बोहराले बताए। उनले भने, ‘जथाभावी सवारी पार्किङ गर्न मनाही छ। त्यसलाई हामी कारवाहीको दायरामा ल्याउँछौँ।’ बढीजसो यात्रुहरु चौराहाबाट चढ्ने र ओर्लिने गर्नाले केही समय मात्रै जाम हुने गरेको उनको दाबी छ।
यस्तै धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा सूचना अधिकारी सन्तोष मुडभरीले व्यवस्थित पार्किङ गर्ने विषयमा ट्राफिक प्रहरी, प्रशासन र नेपाल आयल निगमसँग छलफल भइरहेको बताए। साना सवारी साधन जस्तै अटो रिक्साको संख्या बढी हुँदा त्यसको पनि रुट निर्धारण भइरहेको उनले बताए।
उता नेपाल आयल निगमले ट्याकंर पार्किङका लागि वडा नम्बर ३ मा जग्गा भाडामा लिइएको भएपनि दुर्घटनाको जोखिम रहेको भन्दै स्थानीयले विरोध गरेका कारण समस्या भइरहेको बताएको छ। ट्याकंर पार्किङ व्यवस्थापनका लागि प्रशासन र उपमहानगरपालिकासँग छलफल भइरहेको नेपाल आयल निगमका प्रमुख रामकुमार न्यौपानेले बताए। ‘यहाँ एकदमै जोखिम बढेको छ। यो सबैको दायित्व र जिम्मेवारी हो। पार्किङका लागि जग्गा खोजिरहेका छौँ’ उनले भने।
अटोका कारण झनै समस्या
ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी जामको समस्या अटोका कारण भइरहेको छ। अटोको संख्या बढी हुँदा सडकमा जाम हुने र दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।
११ सय अटो चल्ने ठाउँमा ६ हजार अटो सञ्चालन गरिँदा व्यवस्थापनमा चुनौती थपिएको ट्राफिक प्रहरी निरीक्षक बोहराले बताए। ‘११ सय अट्ने ठाउँमा ६ हजार अटो चले जाम भइहाल्छ। नोकिएर चलिराखे पनि जाम हुन्छ। गाडी नै धेरै छन्। कसलाई चलाउनु भन्ने कसलाई नचलाउनु भन्ने’ उनले भने।
जाम हुन नदिन र दुर्घटना नियन्त्रण गर्न उपमहानगरपालिकाले जोर बिजोर प्रणालीमा सञ्चालन गर्न भन्नुपर्ने वा रुट तोकिदिनुपर्ने कैलालीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बोहराले बताए। प्रदेश सरकार तथा स्थानीय निकायले यी कुरा कार्यान्वयन नगर्दासम्म सडक जाम र दुर्घटना भइरहने उनको भनाई छ।
बसपार्क नहुनु पनि प्रमुख कारण
यस्तै बोहराले बसपार्क नहुँदा पनि सडक जाम भइरहेको बताएका छन्। पछिल्लो समय सवारी साधनको संख्या बढ्दा सडक जाम हुने गरेको उनको भनाई छ। ‘अहिले लामो दुरीका सवारी साधन पनि बढी छन्। बसपार्कमा सबै बस पार्किङ गरे ठाउँ छैन। धेरै जनाले त आफ्नै घर अगाडि पार्किङ गरेका छन्। यो समस्या बस पार्कमा ठाउँ नहुनाले भएको हो’ उनले भने।
अटोरिक्सा, म्याजिक, विङगर, हाइस, टेम्पो, ट्याक्सी, कार लगायतका साना गाडीहरुको पनि छुट्टै पार्किङ स्थल तोकिदिए सहज हुने र आवतजावतमा समेत सास्ती नहुने उनको भनाई छ।