सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज लक्ष्मी पूजा

२०७५ कार्तिक २१, ०८:२६ खबर संवाददाता

आज यमपञ्चकको तेस्रो दिन अर्थात लक्ष्मी पूजा, हिन्दु धर्मावलम्बीहरुको घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइँदैछ। जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन भन्ने धार्मिक विश्वासका आधारमा दिपावली सहित लक्ष्मी पूजा गर्ने परम्परा चलि आएको छ।

विशेष गरी घरका झ्याल, ढोका, कोठा, संघार, कौसी, अटाली र भर्याङ लगायत स्थानमा सरसफाइ गरि दीपावली गरिन्छ। आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाउने गरिन्छ। आजकै दिन गाईलाई लक्ष्मीको प्रतिकका रुपमा पूजा गरिन्छ।

भगवान रामचन्द्रले लोककल्याणको भावनाले रावणसहित असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीका दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने चलन चलेको किंवदन्ती पनि छ। आज साँझ दीपावली गरिसकेपछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्विरमा पूजा गरिन्छ। आज साँझ समूह बनाई घर घरमा भैलो खेल्ने चलन छ।

कमेन्ट लोड गर्नुस